एक वर्ष अघि भत्काउन कार्यादेश दिएको जोखिमयुक्त भवनबाट सेवा दिँदै काठमाडौं महानगर

काठमाडौ । काठमाडौं महानगरपालिकाले टेकुस्थित जोखिम भएको भन्दै भत्काउन कार्यादेश दिएको भवनबाटै सेवा प्रवाह गरिरहेको छ।

अहिले उक्त भवनमा नगर प्रहरी बलको पश्चिम क्षेत्रको कार्यालय, चः मति आयोजना कार्यालय, ३२ वटा वडा कार्यालयको मिसिल फाइल भण्डार कार्यालय सञ्चालनमा छ। स्वास्थ्य विभागबाट सञ्चालन हुँदै आइरहेको अकुपन्चर पनि सोही भवनबाट सञ्चालन भइरहेको छ।

नेपाल विद्युत प्राधिकरणले ६० देखि १२० केभीको हाइटेन्सन लाइनमुनि मापदण्ड विपरित भवन भएको भन्दै पत्राचार गरेको थियो। अर्कोतर्फ २०७२ सालमा भूकम्पले क्षति पुर्‍याएपछि प्राविधिक मूल्यांकन गर्दा उक्त घर जोखिम रहेको भन्दै रातो स्टिकर समेत टाँसेको थियो। तर महानगरले भने जोखिम मोल्दै उक्त भवनबाट सेवा सुविधा दिँदै आएको छ।

प्राधिकरणले पत्र काटेपछि २०७९ जेठ १ गते बसेको १५ ‌औं कार्यपालिका बैठकमा प्रस्ताव नम्बर ६ मा मेयर बालेन शाहले ब्लक ‘ए’ भवन मापदण्ड विपरित भएको भन्दै भत्काउन प्रस्ताव समेत पेश गरेका थिए।

‘सरकारी भवन होस् वा काठमाडौं महानगरपालिकाकै किन नहोस् हाइटेन्सन लाइन मुनि परेको भवन मापदण्ड विपरित हो, त्यसैले उक्त भवन भत्काउनुपर्ने देखिएको हुँदा यो प्रस्ताव पेश गर्न चाहन्छु,’ मेयर बालेनले कार्यपालिका बैठकमा भनेका थिए। त्यसपछि उक्त प्रस्ताव पेश पास भएको थियो।

त्यसपछि २०८० साल वैशाख ३१ गते उक्त भवन भत्काउन कार्यादेश समेत दिइएको थियो। भवन भत्काउन विश्वज्योति लिमिटेडले २२ लाख १९ हजार रुपैयाँमा टेण्डर पाएको थियो। उक्त कार्यादेश तीन महिनाको लागि दिइएको थियो। तर कार्यपालिकाबाट निर्णय गरेको दुई वर्ष बितिसक्दा पनि महानगरले जोखिम मोल्दै उक्त भवनबाट सेवा सुविधा दिँदै आएको छ।

तर महानगरका सह-प्रवक्ता नमराज ढकाल उक्त भवन केही समयभित्रै खाली गराएर छ महिनाभित्र भत्काइसक्ने बताउँछन्।

‘त्यहाँ २००४ साल देखिको वडाका मिसिलहरू छन्,’ उनले भने, ‘ती मिसिलहरू अझै पनि वडा कार्यालयले लगिसकेको छैन। त्यसकारण कार्यालय हटाउन सकेका छैनौं। अरू कार्यालय आवश्यकता अनुसार अन्य ठाउँ सारेर छ महिनाभित्र भवन भत्काउने छौं।’

अर्कोतर्फ सार्वजनिक निर्माण विभागका कर्मचारी योजनाको म्याद थप गरेर काम चाँडै अगाडि बढाउने बताउँछन‍्।

२७,श्रावण.२०८१,आईतवार १२:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्