सुनीता डंगोलको आग्रह, ‘समृद्ध नेपाल, सुखी नेपाली’ को महाअभियानमा युवाहरू एकजुट बनौं

काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनीता डंगोलले सबै नेपाली समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा रहेको बताएकी छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा सोमबारमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले समृद्ध नेपाल, सुखी नेपालीको महाअभियान पूरा गर्न सम्पूर्ण युवाहरू आफ्नो क्षेत्रबाट कुनै आग्रह/पूर्वाग्रह नराखी एकजुट भएर अघि बढ्नुपर्ने बताइन् ।

युवा परिषद्ले बनाउने मेनिफेस्टो युवाहरूको भविष्य र आगामी पुस्ताको पनि हितका लागि बन्नुपर्ने भन्दै उपमेयर डंगोलले साझा मूल्यहरूलाई अघि बढाउन सक्नेगरी निर्माण हुनुपर्नेमा जोड दिएकी छन् ।

उनले भनिन्, ‘हामी सबैजना महाअभियानमा छौँ । हामी सबै समृद्ध नेपाल, सुखी नेपालीको महाअभियानमा छौँ । यो पूरा गर्नका लागि भने सम्पूर्ण युवाहरू आफ्नो क्षेत्रबाट कुनै आग्रह/पूर्वाग्रह नराखि एकजुट भएर अघि बढ्नुछ, त्यसका लागि आह्वान पनि गर्न चाहन्छु । आज मेनिफेस्टो बन्दैछ । त्यो मेनिफेस्टो प्रमाण पनि हो भविष्यप्रतिको प्रतिवद्धताको । यो मेनिफेस्टोले सामूहिक दृष्टिकोण दिन सकोस् । हाम्रा साझा मूल्यहरुलाई अघि बढाउन सकोस् । यो मेनिफेस्टो कसैले बनाइदिएको होइन, हामी सबै युवाले मन, मस्तिष्क र विवेक प्रयोग गरेर युवाकै लागि बनाउँदैछौँ । हामी र भावी पुस्ताको लागि वाचा बन्न सकोस् ।’

उपमेयर डंगोलले आफूले सोचेको जस्तो भविष्य बनाउन सबै एकजुट भइ देश विकासमा लाग्नुपर्ने बताउनु भयो ।

२८,श्रावण.२०८१,सोमबार १३:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्