पर्यटनमन्त्री पाण्डेलाई सांसदको प्रश्नः विदेशी पर्यटकसँग दोब्बर तेब्बर हवाई भाडा किन ?

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रिप्रसाद पाण्डेलाई राष्ट्रिय सभाका सांसदले विदेशी पर्यटकसँग दोब्बर तेब्बर हवाई भाडा के कति कारण र नीतिका कारण लिने गरिन्छ भन्दै प्रश्न गरेका छन् ।

राष्ट्रिय सभाको बिहीबारको बैठकमा मन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा सहभागि हुदैँ नेकपा (एकीकृत समाजवादी)का सांसद मदनकुमारी शाहले यस्ता नीतिले दूरदराजमा रहेका पर्यटकीय क्षेत्र विकासमा नकारात्मक प्रभाव परेको छैन भन्दै प्रशन गरेकी हुन् ।

उनले थप प्रश्न गर्दै भनिन्, ‘मुलुकको आर्थिक विकास गर्न सकिने महत्वपूर्ण आधार क्षेत्रको रुपमा रहेको पर्यटन उद्योगमा परिणत गर्न के कस्तो अल्पकालीन र दीर्घकालीन योजना छ ? विदेशी पर्यटकसँग दोब्बर तेब्बर हवाई भाडा के कति कारण र नीतिका कारण लिने गरिन्छ ?’

पर्यटनमन्त्री पाण्डेले जवाफ दिदैँ पर्यटन क्षेत्रको सम्भाव्यताप्रति आफुहरु जानकार नै भएको र यस क्षेत्रमा बजेट अझै पर्याप्त हुन नसकेको बताए । उनले पर्यटन रणनीतिक योजना (सन् २०१६–२५) र नेपाल भ्रमण दशकलाई कार्यान्वयनमा ल्याई यस वर्ष १६ लाख पर्यटक भित्राउने लक्ष्य राखिएको जानकारी गराए ।

उनले भने, ‘संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपालको संविधान, सोह्रौं योजना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन क्षेत्रसँग सम्बन्धित कानून, क्षेत्रगत नीति, नेपालको राष्ट्रिय पर्यटन रणनीतिक गुरुयोजना (२०१६–२०२५) को आधारमा पर्यटकीय गन्तव्यको विकास विस्तार तथा पहिचान, पदमार्गको निर्माण, पर्यटकीय उपजको बारेमा स्वदेश तथा विदेशमा पर्यटन प्रवर्द्धन कार्यक्रम निरन्तर रुपमा कार्यान्वयन हुँदै आएका छन् । ७ वटै प्रदेश लक्षित गरेर सात प्रदेश सात गन्तब्य कार्यक्रम, ‘इको हिल टुरिजम’ लगायतका कार्यक्रम यो वर्षको बजेटमा समावेश गरिएको छ । भारत र चीनको पर्यटकलाई लक्षित गरी नेपाल पर्यटन बोर्डबाट रोड सो लगायतका प्रचारप्रसार गर्ने कार्यक्रम कार्यान्वयन गरिएको छ ।’

पर्यटनमन्त्री मन्त्री पाण्डेले आन्तरिक हवाई भाडादरमा एकरुपता कायम गर्ने विषय एकदमै महत्वपुर्ण रहेको र यो विषयलाई सरकारले विशेष प्राथमिकतामा राखेर छलफल अघि बढाइसकेको बताए । उनले स्वदेशी पर्यटक र विदेशी पर्यटकको भाडादरमा एकरुपताका लागि छलफल जारी रहेको र यसको सकारात्मक निर्णय आउने जानकारी गराए ।

मन्त्री पाण्डेले नेपाल पर्यटन बोर्डबाट १०० वटा पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन विभागबाट यी गन्तव्यमा पूर्वाधार निर्माणको कार्य भइरहेको बताउदैँ नयाँ पर्यटकीय गन्तव्यको पहिचान गर्न बजेट विनियोजन गरिएको जानकारी गराए ।

उनले भने, ‘होटललाई राष्ट्रिय प्राथमिकता प्राप्त उद्योगको रुपमा विकास गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग समन्वय गरी प्रक्रिया अगाडि बढाइएको छ । पर्यटन क्षेत्रको दक्ष जनशक्ति उत्पादन र विकास गर्ने कार्यलाई उच्च महत्व र प्राथमिकता दिइएको छ । आन्तरिक हवाई भाडादरमा एकरुपता कायम गर्ने विषय महत्वपुर्ण विषय हो । यो विपयलाई सरकारले प्राथमिकता दिएको छ ।’

सांसद शाहले खप्तड क्षेत्र कोष स्थापना सम्बन्धी सांसदको पुरक प्रश्नको जवाफ दिदैँ मन्त्री पाण्डेले खप्तड क्षेत्र पर्यटन विकासको मुख्य आधार तथा पर्यटकको मनोरम गन्तव्य भएको बताए ।

उनले भने, ‘यस क्षेत्रको विकासको लागि संघिय सरकारले विभिन्न पूर्वाधार विकासको लागि लगानी गरिरहेकोछ । यस आ व मा पनि यस क्षेत्रको विकासको लागि पूर्वाधार निर्माणमा रकम विनियोजन गरिएकोछ भने खप्तड क्षेत्र कोष स्थापना सम्वन्धमा छलफल भैरहेको जानकारी गराउदछु ।’

३१,श्रावण.२०८१,बिहीबार १६:४७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्