
सुर्खेत । जाजरकोटको नलगाड नगरपालिका–२ डाँडागाउँमा भूकम्प पीडितको अस्थायी टहरोमा पहिरो खस्दा एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
पहिरोमा पुरिएर नलगाड–२ का ४२ वर्षीय लालबहादुर परियार, उनकी श्रीमती ३५ वर्षीया मनिसा विक र उनीहरुका दुई वर्षीय छोरा शुभम परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रवक्ता दिनेश तिमिल्सिनाले जानकारी दिए ।
उनका अनुसार अस्थायी टहरोमा पहिरो खसेको जानकारी प्रहरीले आज बिहान ७ः५० बजे पाएको थियो । त्यसपछि इन्सपेक्टर माधव प्रसाद चौधरी नेतृत्वको प्रहरी टोली घटनास्थल प्रस्थान गरेको थियो । प्रहरी टोली बिहान नौ बजे घटनास्थल पुगेर शव बाहिर निकालेको थियो ।
नलगाड नगरपालिकाका प्रमुख डम्बर रावतका अनुसार उनीहरु भूकम्प पीडित हुन् । स्थायी आवास नबनेकाले उनीहरु अस्थायी टहरोमा बस्दै आएका थिए । घटनास्थल नलगाड नगरपालिकाको प्रशासकीय केन्द्र दल्ली नजिक पर्दछ ।
प्रतिक्रिया दिनुहोस्