
काठमाडौं । चार महिनामै सत्ताबाट हटेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पार्टी निर्माणमा जुटेको छ । प्रचण्ड सरकार ढलेसँगै प्रतिपक्षमा पुगेको रास्वपाले केन्द्रसँगै प्रदेशहरु बन्द कार्यशाला (क्लोज क्याम्प) गरेको छ । अब अर्को महिना राष्ट्रिय भेला गर्ने तयारी छ ।
रास्वपाको विधानमा राष्ट्रिय भेलाको व्यवस्था छैन । महाधिवेशन पछिको सर्वोच्च निकायका रुपमा राष्ट्रिय परिषद् छ । विधानमा राष्ट्रिय भेलाको व्यवस्था नभएकाले परिषद्को बैठकमा रुपान्तरण गर्ने गरी भेला गर्न लागिएको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी गराए ।
१ र २ असोजमा हुने भेलाले नीतिगत, वैचारिक, सांगठनिक रुपले रास्वपालाई थप परिपक्व र स्पष्टता प्रदान गर्ने उनी बताउँछन् । भेलामा देशभरबाट हजार बढी प्रतिनिधि सहभागी हुने कार्यवाहक महामन्त्री बुर्लाकोटीले जानकारी दिए । प्रतिनिधि छनोटको विधि भने टुंगो लागिसकेको छैन ।
भेलाको तयारीका साथै प्रतिनिधि छनोटको विधि लगायतकका विषय टुंगो लगाउन कार्यवाहक महामन्त्री बुर्लाकोटी र दुई सहमहामन्त्री सुमना श्रेष्ठ र विपिन आचार्यलाई जिम्मेवारी दिइएको छ ।
छलफलका एजेण्डा तय
राष्ट्रिय भेलामा छलफल गर्ने एजेण्डाहरु भने तय भइसकेको छ । केन्द्र र प्रदेशमा भएको बन्द कार्यशाला (क्लोज क्याम्प) मार्फत तय गरिएका एजेण्डाहरुमाथि नै भेलामा छलफल हुने नेताहरु बताउँछन्, जसमा विचार, संगठन, संसदीय मामिला, अभियान, मूल्य–मान्यता, उम्मेदवार क्लब/लिडरसिप एकेडेमी, विधान संशोधन आदि छन् ।
भेलामा सभापति रवि लामिछानेले राजनीतिक प्रतिवेदन पेश गर्नेछन् भने कार्यवाहक महामन्त्री एवं संगठन विभागका प्रमुख बुर्लाकोटीले सांगठनिक प्रतिवेदन पेश गर्ने भएका छन् । प्रस्तावित एजेण्डाहरुमा सबैले धारणा राख्न पाउने वा प्रतिनिधिमूलक रुपमा केहीको सुझाव सुन्न भन्ने टुंगो लागेको छैन ।
समूहगत छलफलका लागि छुट्टा–छुट्टै बैठक कक्ष बनाउन सम्भव नरहेकाले विकल्प सोचिने बुर्लाकोटीले जानकारी गराए । उनले भने, ‘प्रतिनिधिमूलक रुपमा सुझाव लिने भन्ने कुरा पनि छ । कम्तिमा ५ प्रतिशत सहभागीका विचार सुन्ने व्यवस्था गर्छौं ।’
‘विपक्षलाई जवाफ दिन्छौं’
२०७९ असारमा गठन भएको रास्वपाले मंसिरको चुनावमा लोभलाग्दो सफलता पाएको थियो ।
प्रत्यक्षतर्फ ७ सिट जिच्नुका साथै समानुपातिकतर्फ ११ लाख बढी भोट पाएको रास्वपा २१ सिट सहित संसदको चौथो ठूलो दल बन्यो ।
प्रचण्ड सरकारमा गयो, सभापति रवि लाममिनेको नागरिकता विवादमा उम्मेदवारी नै खारेज भएपछि दोस्रो महिना नै बाहिरियो । वैशाख २०८० को उपचुनावमा तनहुँ १ र चितवन २ दुबै जितेपछि रास्वपाको आकांक्षा अझ बढेको थियो ।
तर इलाम २ को उपचुनावमा हारसँगै रास्वपामा खैलाबैला मच्चियो भने बाहिर पनि बैचारिक रुपमा प्रष्टता नभएको रास्वपाको आरोलो यात्रा सुरु भएको टिकाटिप्पणी भयो । फागुनमा फेरि सरकारमा गएपछि सहकारीको रकम अपचलनमा सभापति रवि लामिछानेको संलग्नताको मुद्दा चर्कोसँग उठ्यो ।
असारमा प्रचण्ड सरकार ढलेसँग प्रतिपक्षमा पुगेको रास्पवाका नेताहरु भने पार्टीबारे उठेका तमाम प्रश्नको जवाफ राष्ट्रिय भेलाबाट दिने बताउँछन् । ‘पार्टी बलियो छैन भनि बाहिर गरिएका आशंका राष्ट्रिय भेलाबाट हटाउँछौं,’ कार्यवाहक महामन्त्री बुर्लाकोटी भन्छन्, ‘नीतिगत स्पष्टता भएको जवाफ पनि दिन्छौं । वैचारिक, सांगठनिक, राजनीतिक रुपमा थप क्लियर भएर पार्टी अघि बढ्छ ।’
देशभरका कार्यकर्ता भेला गरेर रास्वपाले आफ्नो ‘तागत’ देखाउने माध्यम राष्ट्रिय भेलालाई बनाउन लागेको छ । त्यसको संकेत गर्दै सभापति लामिछानेले सामाजिक सञ्जालमा लेखेका थिए , ‘पार्टी परिपक्व हुने चरणमा छ । हामी बिल्कुल ठिक छौं, लय पक्रदैछौं ।’
प्रतिक्रिया दिनुहोस्