सहकर्मीले रडले हान्दा भरतपुर विद्युत् सवस्टेशनका एक कर्मचारी घाइते

चितवन । नेपाल विद्युत् प्राधिकरण हेटौँडा बागमती प्रदेश डिभिजन कार्यालय अन्तर्गतको भरतपुर सवस्टेशनका एक कर्मचारीले सोही कार्यालयको अर्को कर्मचारीलाई रडले टाउकोमा हानेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी भेषराज रिजालका अनुसार भरतपुर वितरण केन्द्रका इलेक्ट्रोनिक फोरम्यान पोषण खड्कालाई इलेक्ट्रोनिक सुपरभाइजर मनिष पुरीले रडले हानेका हुन् ।

पुरी र खड्का दुवैले रात्रिको समयको ड्युटी सकेर मङ्गलवार बिहानै साढे ६ बजे कार्यालय परिसरमा नै धारोमा हात धोइरहेको अवस्थामा पुरीले रडले हानेका जनाइएको छ । सुपरभाइजर पुरीले हानेको रडले फोरम्यान खड्काको टाउकोमा गहिरो चोट लागी भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

खड्काले जिल्ला प्रहरी कार्यालयमा मङ्गलवार नै निवेदन दिए पनि निवेदन गए पनि प्रहरीले घटना भने सार्वजनिक गरेको थिएन । प्रहरी प्रमुखले नै कुटपिटको घटना भएको तीन दिन भइसके पनि कारण भने बुझ्न नपाएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक एसपी भावेश रिमालले एक जना अस्पतालमा उपचार भइरहे पनि घटनाको कारण व्यक्तिगत विवाद हुनसक्ने बताउँदै नेपाल प्रेससँग भने,— विवाद व्यक्तिगत जस्तो लाग्छ । तर, बुझिसक्न भ्याएको छैन ।

घटनापछि नेपाल विद्युत् प्राधिकरण कर्मचारी युनियन केन्द्रीय समिति महासचिव शंकर बहादुर क्षेत्रीले एक वर्ष अगाडिदेखि गाली गलौच गर्ने पुरीले ज्यान मार्ने उद्योगले रडले हानेका दाबी गरेका छन् ।

महासचिव क्षेत्रीले एक विज्ञप्ति निकालेर रडले हानेर रगताम्य बनाएर पनि पुनः कुटपिट गरेर ज्यान लिने प्रयास गरेको दाबी गरेका हुन् । एक वर्ष पनि दुई कर्मचारीबीच विवाद भएपछि जिल्ला प्रहरी कार्यालय चितवनमा निवेदन परेको थियो । दुवै जना एक आपसमा मिल्ने सहमति प्रहरी कार्यालयमा भए पनि पुरीले धम्क्याउने, कुट्ने गरेको महासचिव क्षेत्रीले बताएका छन् ।

१३,भाद्र.२०८१,बिहीबार १२:५५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्