दरवारमार्ग प्रहरी वृतदेखि जमल राष्ट्रिय नाचघरसम्म कसले काट्यो इन्टरनेटको तार ?

काठमाडौं । काठमाडौंको दरवारमार्ग प्रहरी वृतदेखि जमल राष्ट्रिय नाचघरसम्म इन्टरनेटको तार काटिएको छ । आज बिहान दरबारमार्गदेखि जमलसम्म इन्टरनेटको तार काटिएको हो ।

सूचनाविनै पोलमा रहेको इन्टरनेटको तारका काटिएको केवल व्यवसायीहरुले बताएको छ । तर, तार कसले काट्यो कसैलाई थाहा छैन । दूरसंचार प्राधिकरणले आफूलाई इन्टरनेट काटिएको बारे जानकारी नभएको बताएको छ ।

प्राधिकरणका प्रवक्ता सन्तोष पौडेलले आफूहरुले तार नकाटेको दाबी गर्दै काठमाडौं महानगरपालिकाले काटेको हुन सक्ने बताए ।

उनले भने,‘हामीलाई नेटको तार काटेको बारे केही खबर आएकोछैन । हामीले काटेको पनि होइनौं । काठमाडौं महानगरले काटेको हुन सक्छ ।’

तर, काठमाडौं महानगरले पनि आफूहरूले इन्टरनेटको तार नकाटेको बताएका छन् । महानगरका प्रवक्ता नवीन मानन्धरले महानगरले नेटको तार नकाटेको र तार काट्नुपर्ने कुनै कारण नभएको बताए ।

उनले भने,‘ तार काट्नुपर्ने कुनै कारण नै छैन । हामीले काटेको होइन त्यस्तो केही जानकारी आएको छैन ।’ काठमाडौं महानगरको वडा नम्बर १ मा पर्ने उक्त क्षेत्रमा वडाले पनि उक्त विषयमा अनविज्ञ प्रकट गरेको छ । वडा नम्बर १ का वडाध्क्ष भरतलाल श्रेष्ठले तार कसले काट्यो भनेर आफुहरुलाई जानकारी नभएको बताए ।

नेपाल विद्युत प्राधिकरणले पनि आफूहरुले त्यस क्षेत्रको इन्टरनेटको तार नकाटेको बताएको छ ।

प्राधिकरणका उपमहानिर्देशक मनोज सिलवालले त्यस क्षेत्रमा प्राधिकरणले इन्टरनेटको तार नकाटेको बताए । उनले नेपालप्रेससँग भने,‘ हामीले अहिले कतै तार काट्ने योजना छैन । तत्काल कतै काटेको पनि छैन । त्यस ठाउँको तार काटेको विषयमा हामीलाई जानकारी पनि भएन ।

अरुको सेवा अवरुद्ध गरेर व्यापारिक फाइदा लिने उद्देश्यले केही ठूला आईएसपीले प्राधिकरणका कर्मचारीसँगको मिलेमतोमा यो कार्य गरेको केही इन्टरनेट सेवा प्रदायकको दाबी छ ।

१९,भाद्र.२०८१,बुधबार १७:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्