मानव बेचबिखन मानव सभ्यताकै कलंक र जघन्य अपराध : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताकै कलंक र जघन्य अपराघ भएको बताएका छन् । मानव बेचबिखनविरुद्धको १८औं राष्ट्रिय दिवसको सन्दर्भमा शुभकामना दिँदै समयक्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरूप र गन्तव्यमा निरन्तर परिवर्तन पाइएको उनले बताए ।

ओलीले भने, ‘नेपालबाट कामको खोजीमा वैदेशिक रोजगारीका लागि सरकारले प्रतिबन्ध लगाएका मुलुकहरूमा घरेलु कामदारका रूपमा जाने क्रममा अधिकांश महिलाहरु बेचबिखनमा पर्नुका साथै मनोरञ्जनात्मक क्षेत्रमा काम गर्ने किशोरीहरू समेत मानव बेचबिखनका दृष्टिले बढी जोखिममा रहेका छन् । बालबालिका र किशोरीहरूको बढ्दो बेचबिखन न्यूनीकरण गर्दै लैजान सरकारले विभिन्न चेतनामूलक कार्यक्रम सञ्चालन गरिरहेको छ ।’

मानव बेचबिखन अन्त्य गर्न सरकारले सचेतनाका साथै निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई माथि उठाउँदै गरिबी निवारण गर्दै लिने नीति लिएको बताए । गरिबी, अशिक्षा, बेरोजगारी तथा विभिन्न किसिमका हिंसा, विभेद र समाजमा विद्यमान कुरीतिजन्य अभ्यासका कारणले भइरहेको यस किसिमका अपराधिक कार्य पूर्णरूपमा नियन्त्रण गर्न नेपाल सरकार निरोधात्मक तथा उपचारात्मक उपाय अवलम्बन गर्दै जान प्रतिबद्ध रहेको बताए ।

मानव बेचबिखन अन्त्य गर्न बनेका कानूनहरूको कडाइका साथ सरकारले कार्यान्वयन गरिरहेको उनको भनाइ छ ।

२०,भाद्र.२०८१,बिहीबार ११:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्