बङ्गलादेशको विषयलाई लिएर मैले उग्र बोलेको छैन : प्रचण्ड

विराटनगर । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बङ्गलादेशको उदाहरण दिएर आफूले गलत नबोलेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रचण्डले दुईतिहाइ बहुमत छ भनेर सरकारले जे पायो त्यही नगरोस् भन्ने खबरदारी गरेको स्पष्ट पारे ।

‘बङ्गलादेशमा पनि दुईतिहाइको सरकार थियो, यो सरकारले पनि दुईतिहाइको आडमा जे पायो त्यही नगरोस् भनेको हो,’ उनले भने, ‘बङ्गलादेशको विषयलाई लिएर मैले उग्र बोलेको छैन ।’ प्रधानमन्त्री केपी शर्मा ओलीको ब्यवहार नै असभ्य भएको आरोप लगाउँदै उनले ओलीले लगाएको आरोपको प्रतिवाद गरे ।

प्रधानमन्त्री ओलीले प्रचण्डले असभ्य व्यवहार गरेको भन्दै लगाएको आरोपबारे सञ्चारकर्मीले सोधको प्रश्नमा उनले व्यवहार हेर्न सुझाव दिए । ‘अहिलेको प्रधानमन्त्रीज्युले कति झुट, बेइमान, अनैतिक र जालझेल गर्ने हुनुहुन्छ भन्ने कुरा मैले प्रतिनिधिसभामै भनेको थिए,’ प्रचण्डले प्रश्न गरे, ‘अगाडिबाट मुसार्ने र पछाडिबाट छुरा हान्ने काम गर्ने ओलीले गरेको तथ्य कसरी असभ्य भयो र ?’

आफूले बोलेको भाषा असभ्य नभएको जिकिर गर्दै प्रचण्डले अहिले सरकार बनाउने बारेमा माओवादी केन्द्रको रुची नरहेको बताए । कांग्रेससँग मिलेर सरकार बनाउन लागेकोबारे सोधिएको प्रश्नमा उनले अहिले पार्टी बनाउनेमा केन्द्रित भएका बताए । ‘एमाले र कांग्रेसलाई यो सरकार बनाइदिएकोमा धन्यवाद पनि भनेका छौँ,’ उनले भने ‘अहिले हाम्रो सरकारमा जाने कुनै ध्यान छैन ।’

अध्यक्ष प्रचण्डले माओवादी संविधान संशोधनको विरोधी नभएको स्पष्ट पार्दै संविधान संशोधन नेपाली जनताले लामो सङ्घर्ष र बलिदानबाट ल्याएका उपलब्धि उल्ट्याउने ढङ्गले हुनु हुँदैन भन्नेमा जोड रहेको बताए । ‘प्रतिगामी किसिमले हुनुहुँदैन । जनताले पाएका अधिकार खोस्ने तरिकाले हुनुहुँदैन भन्ने हो’ उनले भने, ‘अगाडि जानका लागि, अझ जनतालाई अधिकार दिनका लागि संविधान संशोधनमा हाम्रो विरोध छैन ।’

समानुपातिक र समावेशीसहित उत्पीडित समुदायले पाएको अधिकारलाई कुनै तरीकाले कमजोर पार्ने काम भए नेपाली जनतालाई सह्य नहुने प्रचण्डले चेतावनी दिएका छन् ।

२३,भाद्र.२०८१,आईतवार १२:१७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्