जनकपुरधाम । सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित भगवती माध्यमिक विद्यालयमा अध्ययनरत एक विद्यार्थीको मृत्यु प्रकरणलाई लिएर धनुषाको जनकपुर–ढल्केवर सडकखण्ड अवरुद्ध पारिएको छ ।
धनुषाको लक्ष्मी नियाँ ४ का गणेश कुमार साहका अन्दाजी १५ वर्षीय छोरा रजनिश कुमार साहको विद्यालयमै योजनाबद्ध तरिकाले हत्या गरेको भन्दै उनका आफन्त र गाउँले आन्दोलित बनेका हुन् । उनीहरू लक्ष्मी नियाँ ४ मै पर्ने सपहीस्थित जनकपुर–ढल्केबर सडक अवरुद्ध पारेका छन् ।
सडकमा सयौं महिला र पुरुष धर्ना बसेका छन् । उनीहरू रजनिशलाई न्याय देऊ, हत्यारालाई कारबाही गर, प्रहरी प्रशासन मुर्दावाद जस्ता नारा लगाइरहेका छन् । सडक अवरुद्ध पारेपछि अहिले त्यहाँ ठूलो संख्यामा नेपाल र सशस्त्र प्रहरी पुगेको छ ।
विद्यालयका अनुसार भदौ २ गते कक्षा ८ मा अध्ययनरत रजनिश होस्टलको कोठामा झुन्डिएको अवस्थामा भेटिएको थियो । पासो काटेर उद्धार गरी उपचारका लागि धुलिखेल अस्पताल लगेको र त्यहाँ ६ दिन पश्चात् उनको मृत्यु भयो ।
तर मृतक विद्यार्थी रजनिशका परिवारले विद्यालयकै संस्थापक, होस्टेल इन्चार्ज, प्रधानाध्यापकसहितले हत्या गरेको आरोप लगाएका छन् । घटनाको छानबिन र दोषीमाथि कारबाहीका लागि उजुरी दर्ता गराउन जिल्ला प्रहरी कार्यालय सिन्धुली पुग्दा वास्ता नगरेको मृतक रजनिशका कुवा गणेश साहले गुनासो गरे ।
सडकमा आन्दोलित उनले भने, ‘हिजो बिहान १० बजे सिन्धुली पुगेका थियौँ । त्यहाँ डिएसपी साहेबसँग पोष्टमार्टम रिपोर्ट माग्यौँ । उहाँले दिन नमिल्ने भन्नुभयो । त्यसपछि उहाँले नै उजुरी दिन भन्नुभयो । उजुरी लिएर जाँदा एसपी सरलाई आउन दिनुस् भन्दै एक छिन एक छिन गर्दागर्दै साँझ ७ बज्यो । तर उजुरी दर्ता गरेनन् ।’
उजुरी दर्ता गर्न नमानेपछि आफूहरू विरोध गर्दा प्रहरीले कुटपिट तथा दुर्व्यवहार गरेको उनले दुःखेसो पोखे । उनले भने, ‘बाध्य भएर आज यहाँ सडक जाम गर्नुपरेको छ । हामीलाई न्याय चाहियो ।’
प्रतिक्रिया दिनुहोस्