अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा बंगलादेशमाथि भुटानको ऐतिहासिक जित

एजेन्सी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेलमा भुटानले बंगलादेशमाथि ऐतिहासिक जित निकालेको छ।

आइतबार थिम्पूमा भएको खेलमा भुटानले बंगलादेशलाई १-० गोलले पराजित गरेको हो।

घरेलु टोलीका लागि वाङचुकले दोस्रो हाफको इन्जुरी समयको पहिलो मिनेटमा गोल गर्दै इतिहास बनाए।

तीन दिनअघि थिम्पूमै भएको पहिलो मैत्रीपूर्ण खेलमा भने भुटानलाई बंगलादेशले १-० गोलले हराएको थियो।

बंगलादेशसँग यसअघि १५ अन्तर्राष्ट्रिय खेल खेल्दा भुटानले कहिल्यै जित निकाल्न सकेको थिएन। तर १६औं खेलमा जित निकालेर भुटानले हारको सिलसिला तोड्यो।

यसअघि खेलेका १५ मध्ये भुटान १३ खेलमा पराजित भएको थियो भने दुई खेल बराबरीमा सकिएका थिए।

भुटानले दक्षिण एसियाली फुटबल महासंघ (साफ) बाट खेल्ने दोस्रो टोलीविरूद्ध जित निकालेको हो। यसअघि भुटानले श्रीलंकालाई पनि हराएको थियो।

साफका भारत, माल्दिभ्स, नेपाल र पाकिस्तानसँग भुटानले जित निकाल्न सकेको छैन।

भारत, माल्दिभ्स र पाकिस्तानसँग सबै खेल हारेको भुटानले नेपालसँग पछिल्लो खेलमा बराबरीको नतिजा निकालेको थियो।

यसअघि लगातार १४ खेलमा जित निकालेको नेपालले गत वर्ष भुटानविरूद्धको १५औं खेलमा बराबरी खेलेको थियो।

पछिल्लो समय फुटबलमा लगानी बढाइरहेको भुटानको स्तर पनि बढिरहेको छ। जसका कारण उसले आइतबार बंगलादेशविरूद्ध जित निकालेर इतिहास रचेको हो।

२४,भाद्र.२०८१,सोमबार १०:४६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्