रूपन्देही । लुम्बिनी प्रदेश सभामा स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक पेश भएको छ ।
प्रदेश मामिला तथा कानुन समितिका सभापति दिलकुमारी बुढाले स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्थापन गर्न बनेको प्रतिवेदनसहितको विधेयक सभामा पेश गरिन् । लुम्बिनी प्रदेश सभाको चौथो अधिवेशनको २९ औं बैठकमा समितिका सभापति बुढाले प्रतिवेदनसहितको विधेयक पेश गरेकी हुन् ।
भदौ ६ गते बसेको प्रदेश सभाको २७ औं बैठकले प्रतिवेदनसहित पेश भएको विधेयकलाई पुनः समितिमा पठाएको थियो । समितिले विधेयकमाथि पुनः छलफल गरेर बुधवारको बैठकमा पेश गरेको हो । प्रदेशसभामा वैशाख ३० गते दर्ता भएको विधेयकलाई दफावार छलफलका लागि समितिमा पठाइएको थियो ।
प्रदेश मामिला तथा कानुन समितिले प्रतिवेदनसहितको विधेयक तयार पार्न ३६ औं बैठक सम्पन्न गरेको र लामो छलफलबाट प्रतिवेदन पुनः सभामा पेश गरिएको समितिका सभापति बुढाले जानकारी दिइन् ।
सार्वजनिक प्रशासनलाई स्वच्छ, सक्षम, निस्पक्ष, पारदर्शी, जनउत्तरदायी बनाउन भूमिका खेल्नेगरी विधेयक तयार भएको सभापतिको भनाई छ । बुधवार बसेको बैठकमा मुख्यमन्त्री चेतनारायण आचार्यको तर्फबाट भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकालले प्रदेश विपद् व्यवस्थापन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई दफावार छलफलका लागि प्रदेश मामिला तथा कानुन समितिमा पठाउन प्रस्ताव पेश गरे । बैठकमा प्रदेशसभा सदस्यहरुले विशेष समयमा बोल्दै सरकारको सभाको ध्यानाकर्षण गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्