गण्डकी प्रदेशमा सिद्धार्थको सेवा विस्तार, दमौलीमा तीनतारे होटल सञ्चालनमा

काठमाडौ । काठमाडौ चेन हस्पिटालिटी सिद्धार्थ ग्रुपअन्तर्गत तनहुँको सदरमुकाम दमौलीमा तीनतारे स्तरको ‘सिद्धार्थ होटल दमौली’ सञ्चालनमा आएको छ।

होटलको बिहीबार औपचारिक उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले पछिल्लो समय दमौली पर्यटकीय नगरीका रूपमा विकास हुँदै गएको र लगानी पनि बढ्दो रहेको बताए।

‘दमौलीलाई पर्यटकीय नगरीका रूपमा विकास भइरहेको, पछिल्लो समय व्यास–देवघाट करिडोर निर्माणदेखि १०८ वटा मूर्ति निर्माण पनि भइरहेका छन्,’ उनले भने, ‘लगानीकर्तालाई दमौलीमा लगानीमैत्री वातावरण भएकाले थप लगानीका लागि आग्रह गर्दछु।’

उनले दमौलीमा पहिलो पटक तीनतारे स्तरको सुविधासम्पन्न होटल निर्माण भएको उल्लेख गर्दै विगतमा कुनै पनि कार्यक्रम गर्नका लागि बन्दीपुर, पोखरालगायतका स्थानमा जानुपर्ने बाध्यता अन्त्य भएको बताए।

पछिल्लो समय दमौली विकासको चरणमा रहेकाले होटललगायतका पूर्वाधार अझै आवश्यक भएको उल्लेख गर्दै उनले यहाँ लगानीका कैयौँ सम्भावना रहेको भनाइ राखे।

एपेक्स हस्पिटालिटी लिमिटेडको निर्माण र सिद्धार्थ हस्टिपालिटीको व्यवस्थापनमा ‘सिद्धार्थ बाटिका’ ब्राण्डअन्तर्गतको होटल सञ्चालनमा ल्याइएको हो।

एपेक्स हस्पिटालिटी लिमिटेडका अध्यक्ष मुकुन्द तिमल्सिनाले पर्यटकीय गन्तव्यका रूपमा विकास हुँदै गरेको दमौलीमा आवश्यकताका आधारमा होटल निर्माण गरिएको बताए।

‘प्रारम्भमा व्यावसायिक कम्प्लेक्सको अवधारणामा भवन निर्माण सुरू गरिए पनि अन्ततः यहाँ सुविधा सम्पन्न होटल र दुई वटा सिनेमा हाल सञ्चालनमा ल्याइएको छ’, उनले भने, ‘होटल निर्माणपछि यस क्षेत्रको भ्रमणमा आउने पर्यटकलगायत लाभान्वित हुने अपेक्षा गरेको छु।’

उनले दमौली भइ पोखरा, काठमाडौं र चितवन जस्ता पर्यटकीय गन्तव्यमा पुग्ने यात्रु तथा स्थानीय स्तरमा आयोजना हुने सभा, सम्मेलनका साथै विवाह, व्रतबन्धलगायतका अवसरमा पार्टी आयोजनाका लागि पनि सहज भएको बताए।

होटलमा डिलक्स र जुनियर स्विट गरी ३४ वटा कोठा छन्।

साथै, करिब एक सय ५० जना क्षमताको एउटा हल र करिब ४० जना अट्ने दुई हल छन्। होटलमा अल डे डाइनिङ रेष्टुरेन्ट, बार रेष्टुरेन्ट र सिद्धार्थ क्याफेको पनि सुविधा छ।

यो होटल काठमाडौंबाट १५० किलोमिटर पश्चिम र पोखराबाट ५० किलोमिटर पूर्वमा अवस्थित छ। पर्याप्त सवारी साधन अट्ने गरी अन्डरग्राउण्ड पार्किङ र विद्युतीय चार्जिङको पनि व्यवस्था छ।

पूर्वमा विर्तामोडदेखि पश्चिममा महेन्द्रनगरसम्म फैलिएको सिद्धार्थ हस्पिटालिटीको सेवा सञ्जालमा कुल दुई हजारभन्दा बढी जनशक्तिले प्रत्यक्ष रोजगारी पाएको जनाइएको छ।

उनले नेपालकै ठूलो हस्पिटालिटी सञ्जाल, अन्तर्राष्ट्रिय स्तरको सेवा, विश्वसनीयता तथा कुशल व्यवस्थापनका कारण होटल व्यवस्थापनका लागि सिद्धार्थ ग्रुपसँग सहकार्यका गरिएको बताए।

सिद्धार्थ ग्रुपका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले होटल सञ्चालनले यहाँको पर्यटकीय गतिविधि बढाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

२८,भाद्र.२०८१,शुक्रबार १२:४२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्