काठमाडौँ । ल्यान्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिकमा समस्या देखिएपछि दुबईबाट फर्किनुपर्ने नेपाल वायुसेवा निगमको जहाज उतै ग्राउन्डेड भएको छ ।
निगमको न्यरोबडी ुलुम्बिनीु शुक्रबार राति ११:५२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई उडेको थियो । उक्त जहाज दुबईबाट स्थानीय समय अनुसार ३स्५५ बजे नेपाल फर्किनुपर्ने तालिका थियो ।
‘ल्यान्डिङ गियरसँग सम्बन्धित हाइड्रोलिकमा समस्या देखियो, स्पेयर पार्ट्सको खोजी भइरहेको छ,’ निगमका प्राविधिक प्रवक्ता इञ्जिनियर मनोज कुमार साहले भने, ‘स्पेयर पार्ट्स खोजेर जहाजलाई फर्काउन लागिरहेका छौं ।’
यो विमानबाट शनिबार बिहान पौने १० काठमाडौंमा अवतरण भइसक्नुपर्ने तालिका थियो । तर, निगमसँग अर्को जगेडा विमान नभएकाले घर फर्किँदै गरेका १ सय ५० नेपाली कामदारसहितका यात्रु उतै अलपत्र परेका छन् । ती यात्रुलाई निगमले खर्च ब्यहोर्ने गरी होटलमा राखिएको निगमका एक अधिकारीले बताए ।
दुबईमा निगमको आफ्नै प्राविधिक नहुने भएकाले त्यहाँ उसले जहाजमा भईपरी आउने प्राविधिक समस्या हल गर्न कुबेत एयरवेजसँग सम्झौता गरेको छ । निगमले स्पेयर पार्ट्स जुटाइदिएपछि कुबेत एयरवेजका प्राविधिकहरुले त्यसलाई फेरबदल गरिदिने छन् ।
यो विमान उतै रोकिएका कारण शनिबार दिउँसो साढे १ बजेका लागि राखिएको दिल्ली वा बेलुकी ५:४५ को हङकङ उडानमध्ये एउटा उडान यो न्यरोबडीले गर्नुपर्ने थियो । यीमध्ये कुनै एक गन्तव्यको उडान ढिलो हुने ती अधिकारीले बताए ।
प्रतिक्रिया दिनुहोस्