काठमाडौं । अदालतको अवहेलना मुद्दामा दुई पत्रकारलाई जेल चलान गरेलगत्तै सर्वोच्च प्रशासनले नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेविरुद्ध सोही प्रकृतिको मुद्दा दर्ताको तयारी गरेको छ ।
घिमिरेले हालै नगरकोटमा आयोजित कार्यक्रममा प्रधानन्यायाधीशले घुस खाएको र घुसको रकम मिलान गर्न न्यायाधीश नियुक्ति सिफारिसमा हतार गरेको अभिव्यक्ति दिएका थिए ।
त्यसबाट अदालतको अवहेलना भएको भन्दै सर्वोच्च प्रशासनले आजै घिमिरेविरुद्ध प्रतिवेदन तयार पारेर रिट दर्ताको तयारी गरेको छ । आफूहरू रिट दर्ताको बारेमा छलफलमा रहेको र सम्भवतः आजै दर्ता हुने सर्वोच्च प्रशासनका सूचना अधिकारी गोविन्द घिमिरेले बताए ।
न्याय परिषद्ले सर्वोच्च अदालतमा दुईजना न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेपछि बार अध्यक्ष घिमिरेले गम्भीर आरोप लगाएका थिए । आर्थिक लेनदेनको आरोपमा प्रधान न्यायाधीशले न्यायाधीश नियुक्ति सिफारिस गरेको घिमिरेलाई उद्धृत गर्दै विभिन्न सञ्चारमाध्यममा समाचारहरू आएका थिए । प्रधानन्यायाधीश श्रेष्ठ एक सातापछि अवकाश पाउँदैछन् ।
विवादित न्याय परिषद् नियमावली खारेज नगरी न्यायाधीश नियुक्ति सिफारिस नगर्न बारले खबरदारी गर्दै आएको थियो । तर, विवाद समाधान नगरी, अवकाशको मुखमा न्यायाधीश नियुक्ति सिफारिस गरेको बारले आरोप लगाउँदै आएको छ ।
प्रतिक्रिया दिनुहोस्