काठमाडौ । काठमाडौ सोमबार र मंगलबार गरी दुई दिनमा नेप्से परिसूचक १६० अंकले बढेको छ।
सोमबार ४४.४५ अंक र मंगलबार ११४.७० अंक गरी दुई दिनमा नेप्से १५९.१५ अंकले बढेको छ।
मंगलबार नेप्सेले २६ सयको विन्दु पार गरेको हो। यसदिन नेप्से २६२३.५६ विन्दुमा बन्द भएको छ।
अहिले नेप्सेले ३००१ विन्दु पुग्दा जोडेको अंकको अधारमा ६१ प्रतिशत आसपास रिट्रेसमेन्ट पाएर बढिरहेको छ।
आज अघिल्लो दिनको तुलनामा कारोबार रकम पनि बढेको छ।
सोमबार तीन अर्ब ७१ करोडको कारोबार भएकोमा यसदिन सात अर्ब ६१ करोडको कारोबार भएको छ।
अघिल्लो दिनको तुलनामा कारोबार रकममा ३ अर्ब ९० करोड रूपैयाँ वृद्धि भएको हो।
आज ३०७ वटा धितोपत्रको एक करोड ७५ लाख ७ हजार ५५५ कित्ता सेयर किनबेच भएको हो।
मंगलबार २४३ कम्पनीको सेयर मूल्य बढेको छ भने एकको घटेको छ। यस्तै, एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ।
यसदिन २३ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
हाल कारोबारमा रहेका १५ वटै फाइनान्स कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो।
गोर्खाज, गुडविल, श्री इन्भेष्टमेन्ट, सेन्ट्रल, जानकी, समृद्धि, गुहेश्वरी, आइसिएफसी, प्रोग्रेशिभ, मल्टीपर्पस, रिलायन्स फाइनान्स लगायतका कम्पनीको मूल्य १० प्रतिशतले बढेको छ।
यस्तै, युनिलिभरको सेयर मूल्य घटेको छ। उक्त कम्पनीको मूल्य ०.८१ प्रतिशतले घटेर प्रति कित्ता मूल्य ५० हजार ८० रूपैयाँमा झरेको छ।
मंगलबार एनएलजी इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ।
कम्पनीको प्रतिकित्ता मूल्य एक हजार ३३५ रूपैयाँमा २८ करोड ८२ लाखको सेयर कारोबार भएको छ।
यो मूल्य अघिल्लो दिनको तुलनामा १.८३ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा हिमालयन रिइन्स्योरेन्स रहेको छ। उक्त कम्पनीको प्रतिकित्ता ८२७ रूपैयाँमा २३ करोड ५१ लाख रूपैयाँ बराबरको सेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।
यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ९.७४ प्रतिशतले बढेको छ। यस्तै दोस्रोमा लगानी समूहको परिसूचक ६.१० प्रतिशतले बढेको छ।
प्रतिक्रिया दिनुहोस्