सांसद परियारको राउतलाई प्रश्न, न्यायाधीश नियुक्तिबारे बारम्बार किन प्रश्न उठ्छ ?

काठमाडौँ । सांसद जीवन परियारले न्यायाधीश नियुक्तिबारे बारम्बार किन प्रश्न उठ्छ भन्दै प्रस्तावित प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतलाई प्रश्न गरेका छन् ।
बुधबार संसदीय सुनुवाइ समितिको बैठकमा सांसद परियारले न्यायाधीश नियुक्तिको विषयमा प्रश्न उठ्ने गरेको बताएका हुन् ।

उनले भने,‘पञ्चायतकमलमा अदालतमाथि जनताको भरोसा थियो तर अहिले नभएको जनगुनासो छ । न्यायाधीश नियुक्तिको विषयमा पनि प्रश्न उठ्ने गरेको छ, किन बारम्बार यसरी प्रश्न उठ्ने गरेको हो ?’

सांसद परियारले मानहानि बारेमा अदालतले प्रष्ट नजिर बनाउन आवश्यक रहेको बताए । उनले भने, ‘अहिले न्यायालयप्रति जनताको भरोसा गुमेको छ, अदालतप्रति जनताको विश्वास भरोसा कस्तो छ, सर्वोच्चले त्यसबारे अध्ययन गरोस् । अदालतप्रति जनताको सहज पहुँच छैन, अदालतमा हुने झन्झटले सर्वसाधारण बरु पीडा सहन चाहन्छन् तर अदालत जान नचाहने अवस्था छ । मानहानि कसलाई लाग्ने, कसरी लाग्ने भन्नेमा प्रष्ट भएन ।’

हरेक पटक प्रस्तावित प्रधानन्यायाधीशहरूले कार्ययोजना ल्याउँदा निकै राम्रो ल्याउने गरेको भन्दै सांसद परियारले कार्यान्वयन भने नहुने गरेको बताए ।

१६,आश्विन.२०८१,बुधबार १५:५७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्