काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसदहरूले आफूहरूसँग छलफल नै नगरी बाढी पहिरो प्रभावितको सहयोगार्थ १५ दिनको तलब दिने सचेतक मेटमणि चौधरीले घोषणाप्रति असन्तुष्टि जनाएका छन् ।
उपमहासचिव समेत रहेका सचेतक चौधरीले बुधवार वर्षाका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै पार्टी र दलको निर्णय अनुसार सांसदहरूका तर्फबाट १५ दिनको पारिश्रमिक गर्ने प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने घोषणासहितको पत्र संसद् सचिवालयमा बुझाएका थिए ।
तर सो पार्टीका सांसदहरूले भने सचेतकको उक्त घोषणा आफूखुसी भएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘पहिलो कुरा हामीसँग कुनै औपचारिक अनौपचारिक कुनै छलफल गरिएन, संसदीय दलको बैठक पनि राखिएन एकैपटक १५ दिनको तलव दिने भनेर सचेतकको पत्र सार्वजनिक भयो’, एक असन्तुष्ट सांसदले भने, ‘पार्टी अध्यक्ष समेत काठमाडौँ बाहिर भएका बेला कसरी यस्तो निर्णय भयो भनेर हामी नै आश्चर्यमा परेका छौ ।’
ती सांसदले पार्टी र दलको बैठक बसेर छलफल भएको भए बाढी प्रभावितका लागि आफूहरू एक महिनाकै तलब समेत दिन सक्ने बताए ।
‘पैसा ठुलो कुरा भएन । तर प्रवृत्ति ठिक भएन । किनभने छलफल गरेको भए हामी एक महिनाकै तलब दिन सक्थ्यौ’, ती सांसदले भने, ‘यस्तै कारणले पार्टीमा असन्तुष्टि बढ्ने हो ।’ तर सचेतक चौधरीले भने पार्टीमा भएको सल्लाह अनुसार नै आफूले संसद् सचिवालयलाई पत्र बुझाएको दाबी गरे ।
प्रतिक्रिया दिनुहोस्