हेटौंडा । बागमती सरकारले ९ दिनसम्म निरन्तर काम गर्दै हेटौंडा–काठमाडौं जोड्ने तीन वटा सडक सञ्चालनमा ल्याएको छ ।
हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली–काठमाडौं, कुलेखानी–फाखेल–हुमानेभन्ज्याङ–फर्पिङ–काठमाडौ र कुलेखानी–महालक्ष्मीखोला–चखेल–मातातीर्थ–काठमाडौं गरी तीन वटा सडक सञ्चालनमा ल्याइएको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री अमनकुमार मास्केले जानकारी दिए ।
१० देखि १२ असोजसम्म परेको वर्षाका कारण र कुलेखानी जलविद्युत केन्द्रले पानी छोड्दा काठमाडौंबाट हेटौंडा जोड्ने सडकहरु अवरुद्ध भएका थिए ।
‘९ दिनदेखि सडकहरु अवरुद्ध थिए । हामीले निरन्तर काम गरेर आइतबारबाट तीन वटा मार्गलाई खुलाएका छौं’, मन्त्री मास्केले भने ।
दक्षिणकालीदेखि सिस्नेरीसम्म सानाठूला गरी ६० वटा र सिस्नेरीदेखि भैंसेसम्म ४० वटा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याएको मन्त्री मास्केले बताए । ‘दशैंलाई लक्षित गरेर हामीले हतारहतार अस्थायी रुपमा सडक खुलाएका हौं । दीर्घकालिन तरिकाले योजना बनाएर काम गर्छौं’, उनले भने ।
तीन वटा सडकमा ५ वटा डाइभर्सन बनाइएको उनले बताए । कुलेखानी–सिस्नेरी खण्डको ज्यामिरेमा, कुलेखानी–फाखेल खण्डको महालक्ष्मी खोलामा, कुलेखानी ड्याम क्षेत्रमा र दक्षिणकाली नगरपालिका क्षेत्रमा गरी ५ वटा डाइभर्सन निर्माण गरिएको हो ।
महालक्ष्मी खोलामा ७० मिटर सडकमा क्षति पुगेको उनले जानकारी दिए । सवारी चाप अत्याधिक हुने भएकाले सिस्नेरी र फाखेल सडकलाई ‘वान वे’ बनाउने विषयमा छलफल भइरहेको उनको भनाइ छ ।
गाडी अड्किएको अवस्थामा कुलेखानी र महालक्ष्मी खोलामा जेसिबी तयारी अवस्थामा राखिएको मन्त्री मास्केले जनाए । ९ दिनसम्म एक्साभेटर, जेसिभी र टिपर लगाएर काम गरिएको भौतिक मन्त्रालयका सचिव अमृत श्रेष्ठले जानकारी दिए । एक्साभेटरको भाडा र इन्धन खर्च मात्रै मन्त्रालयले ब्यहोर्ने गरी काम गरिएको उनले बताए ।
भौतिक पूर्वाधार विकास मन्त्रालय, यातायात पूर्वाधार निर्देशनालय, प्रदेश राजधानी पूर्वाधार विकास विशेष आयोजना, पूर्वाधार विकास कार्यालय मकवानपुर र ललितपुर एकसाथ खटिएर निरन्तर काम गरिएको सचिव श्रेष्ठ बताउँछन् ।
कुलेखानी–मार्खु–चित्लाङ–चन्द्रागिरी–थानकोट सडक भने बुधबारदेखि नै खुलाइएको थियो । हेटौंडालाई धादिङ नौबिसे हुँदै काठमाडौं जोड्ने पुरानो सडक त्रिभुवन राजपथ भने पहिल्यै सञ्चालनमा ल्याइएको हो ।
कान्तिलोकपथ सडक खण्ड भने सञ्चालनमा आइसकेको छैन । भीमफेदी र ललितपुर जोड्ने बागमती पुल बगाएकाले उक्त सडक खण्ड अवरुद्ध छ ।
प्रतिक्रिया दिनुहोस्