विराटनगर । नेपाली कांग्रेस कोशी प्रदेशको प्रदेश सम्मेलन मङ्सिर २२ विराटनगरमा हुने भएको छ । नेपाली कांग्रेस कोशी प्रदेशको बैठकले नेपाली कांग्रेस कोशी प्रदेशको प्रदेश सम्मेलन’ आयोजना गर्ने निर्णय गरेको हो ।
केन्द्रीय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यमा विराटनगरमा गर्ने सम्मेलनमा प्रस्तुत गरिने राजनीतिक प्रस्ताव, साङ्गठनिक प्रस्ताव र तयार गर्न महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापालाई जिम्मेवारी दिइएको छ ।
यस्तै आर्थिक प्रस्ताव तयारीका लागि कोषाध्यक्ष राजेश गुप्तालाई जिम्मेवारी दिएको छ । यसै गरी नेपाली कांग्रेस ले ‘कचनकवल–सगरमाथा जागरण अभियान’ सञ्चालन गर्ने समेत निर्णय गरेको छ ।
विराटनगरमा सम्पन्न प्रदेश समितिको पूर्ण बैठकले तराईदेखि हिमालसम्मका मतदाता र जनतासँग भेट गर्ने, अन्तरक्रिया गर्ने लक्ष्यसहित अभियान सञ्चालन गर्ने निर्णय गरेको सभापति उद्धव थापाले बताए ।
उनले नेपालकै होचो स्थान झापाको कचनाकवलदेखि संसारको अग्लो स्थान सगरमाथा रहेको सोलुखुम्बुसम्मको अभियानले पार्टीलाई प्रदेशमा नयाँ उत्साह दिने अपेक्षा गरेर कार्यक्रम बताए । सभापति थापाले भने ‘यही अभियान र केन्द्रीय समितिद्वारा सञ्चालित १०० दिने अभियानलाई सहयोग गर्नका लागि कोशी प्रदेशका ५६ वटै प्रदेश निर्वाचन क्षेत्रमा प्रतिनिधि खटाउने निर्णय पनि भएको छ ।’
जागरण अभियानको अवधारणा पत्र तयार पार्न र प्रतिनिधिहरूका लागि कार्यविधि तयार गर्न पार्टीका कोशी प्रदेश प्रवक्ता यदुकुमार विष्टको संयोजकत्वमा समिति बनेको छ । सो समितिमा उत्तमबहादुर चौंलागाई, बाबुराम कोइराला, रन्जिता कार्की र सदस्य सचिवमा नारायण कोइराला सदस्य रहेका छन् ।
प्रदेश समितिले मङ्सिर १६ को स्थानीय तहको उपनिर्वाचनमा कांग्रेसका उम्मेदवारहरूलाई विजयी गराउन निर्वाचन परिचालनका लागि निर्वाचन हुने स्थानीय तहमा प्रतिनिधि खटाउने निर्णय पनि बैठकले गरेको छ । बैठकमा कांग्रेस बाट सरकारमा मन्त्री भएकाहरूले अहिलेसम्म सरकारले गरेको कामबारे ब्रिफिङ गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्