चामल गायब पार्नेलाई ७० हजार जरिवाना, २४ घण्टाभित्र ल्याउन निर्देशन

हेटौंडा । मकवानपुरको मनहरी बजारमा अनुगमन टोलीले सिलबन्दी गरेको चामल गायब पार्ने मंगलमय ट्रेडर्सलाई मनहरी गाउँपालिका कार्यालयले ७० हजार रुपैयाँ जरिवाना गराएको छ ।

अनुगमन टोलीले सिल गरेको चामल गायब बनाएपछि बुधबार गाउँपालिकाले मंगलमय ट्रेडर्सलाई ७० हजार रुपैयाँ जरिवाना तिराउने र २४ घण्टाभित्र हराएको चामल ल्याएर गोदाममा राख्न निर्देशन दिएको हो ।

गाउँपालिकाले चामल प्रचलित मापदण्ड विपरीत भएकाले ५० हजार र चामलको बिक्री वितरण, ओसारपसार रोक्का गरिएकामा त्यसको अवज्ञा गरी अटेर गरेकाले २० हजार गरी ७० हजार जरिवाना गराउने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत रमेश सुवेदीले जानकारी दिए ।

मंगलमय ट्रेडर्सले बुधबार नै गाउँपालिका कार्यालयको खातामा ७० हजार जरिवाना तिरेको गाउँपालिका कार्यालयले जनाएको छ । ट्रेडर्सलाई रोक्का गरिएको चामल दाखिला गर्न पत्रमार्फत निर्देशन दिइएको छ । चामलको नमूना जाँच गर्नुपर्ने भएकाले दाखिला गर्न भनिएको छ ।

६ असोज ०८१ मा गाउँपालिका कार्यालय, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयसहितको अनुगमन टोलीले शिल गरेको ६० बोरा चामल गायब पारिएको थियो । १२ कात्तिक सोमबार परीक्षणका लागि चामल नमूना लिन पुगेको खाद्यको टोलीले शिल गरिएको चामल गोदाम रित्तै देखेपछि कारबाही गर्न गाउँपालिकालाई अनुरोध गरेको हो ।

यसअघि ओम कैलाश ब्राण्डका ५३ बोरा र लक्ष्मी राइस मिलबाट उत्पादित ७ बोरा चामल बिक्री बितरण र उपभोग गर्न प्रशासन र गाउँपालिका आफैंले शिल गरेको थियो । यी दुई वटा ब्राण्डका चामलका बोरामा उपभोग्य मिति, उत्पादन मिति र ब्याच समेत नभेटिएपछि चामल शिल गरिएको अनुगमन मुचुल्कामा उल्लेख छ ।

एक महिनाअघि नै शिल गरिएको चामलको सोमबार मात्रै नमूना संकलनका लागि मनहरी गाउँपालिकाको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, इलाका प्रहरी कार्यालय मनहरीको टोली पुगेको थियो । नमूना संकलनका लागि जाँदा यसअघि नै शिल तोडेर चामल गायब पारिएको पत्ता लागेको हो ।

१४,कार्तिक.२०८१,बुधबार २०:५१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्