काठमाडौ । काठमाडौ सर्लाहीमा पोखरीमा कार डुब्दा बेपत्ता भएका दुई जनाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर परिचालन गरिएको छ।
ईश्वरपुर नगरपालिका वडा नम्बर २ मियाखोर स्थित पोखरीमा बयलबासबाट महोत्तरीको गौशालातर्फ जाँदै गरेको लु २ च ६७५८ नम्बरको कार पोखरीमा डुबेको थियो।
त्यसमा सवार तीन जनामध्ये महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर २ बस्ने अन्दाजी ३१ वर्षीय जनक यादव सकुशल निस्किएका थिए।
कारमा गौशाला नगरपालिका–१० का अन्दाजी ३७–३८ वर्षीय सुरेश महतो र सोनवा गाउँपालिका–८ का ३७ वर्षीय रामाकान्त ठाकुर सवार रहेको र उनीहरू बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।
उनीहरूको खोजीका लागि महोत्तरीमा रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ताबाट गोताखोर परिचालन गरिएको छ।
उद्धार र खोजी कार्यका लागि सुरक्षा बेस सागरनाथबाट र इलाका प्रहरी कार्यालयबाट केशरजंगबाटसमेत सुरक्षा फौज खटिएको छ।
कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस्