बेमौसमी वर्षाले धान बालीमा क्षति हुँदा पर्वत र बाँकेका किसान समस्यामा

पर्वत । जिल्लाका विभिन्न क्षेत्रमा सोमबार दिउँसो परेको बेमौसमी वर्षाका कारण थन्क्याउने तयारी भएको धानबाली र परालमा क्षति पुगेको छ ।

सोमबार दिउँसो परेको वर्षाले खेतमा लटरम्म पाकेको धान झारेको छभने काटेर सुकाएको निहिन र पराल पूरै डुबाएको किसानले गुनासो गरेका छन् ।

जिल्लाको फलेवास, महाशिला, विहादी, जलजला, मोदी र पैैयूँ गाउँपालिकाका अधिकांश स्थानका किसानले तिहार सकिएलगत्तै धान भित्र्याउने तयारी गरेका थिए ।

कतिपयको तिहार अघिदेखि काटेर सुकाएको र कतिपयको सोमबार बिहान काटेको धान नष्ट गरेको मोदी गाउँपालिका–२ देउपुरका प्रकाश चापागाईँले जानकारी दिए। धान थन्क्याइसकेका किसानले दाइँ हालेर टौवा बनाउने तयारी गरेका बेला पराल रुझेको गुनासो गरेका छन् । रुझेको पराल कुहिएमा गाईभैँसीले नखाने भएकाले केही दिन लगातार सुकाउनुपर्ने समस्या भएको ठुलीपोखरीका किसान रामप्रसाद सापकोटाले बताए ।

कृषि ज्ञान केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले जिल्लाका सबैजसो पालिकामा थन्क्याउने तयारी गरेको धानमा वर्षाले नोक्सानी पुर्याएको बताए। यसअघि यही कात्तिक ६ गते पनि असिनापानी पर्दा क्षति भएको थियो । त्यतिबेला बचेको धान अहिले थन्क्याउने बेलामा फेरि असर गरेको उनको भनाइ छ । क्षतिको यकिन विवरण सङ्कलनको काम भइरहेको उनले बताए ।

धान पर्वतको मुख्य बाली हो । पटकपटक आएको असिना र भारी वर्षाले धानबालीमा क्षति पुर्याएपछि यसपटक उत्पादनमा पनि कम हुने भएको छ । रोप्ने बेलामा मौसम अनुकूल परेका कारण यस वर्ष उत्पादन बढ्ने आकलन गरिएको भए पनि अहिले क्षति पुगेको कार्यालयले जनाएको छ ।

त्यस्तै सोमबार साँझ परेको बेमौसमी वर्षाले बाँकेमा पनि काटेर खेतमै सुकाएको धानबालीमा क्षति पुर्याएको छ । वर्षाले भित्र्याउन ठिक्क परेको धानको बाला रुझाएको छभने काट्न ठिक्क परेको धान खेतमा नै झारिदिएको छ । वर्ष दिनसम्म खाने धानबाली वर्षाले भिजाएर क्षति पुर्याएको नेपालगञ्ज–१७ परसपुरका किसान रामसुरत बर्माले बताए ।

दुई बिघा खेतमा लगाएको मसिनो जातको धान काटेर स्याहार्ने बेला गए रातिको वर्षाले भिजाएर ठूलो क्षति भएको उनको भनाइ छ । केही दिनदेखि मौसम पूर्ण रूपमा नखुलेका बेला डराइडराई धान काटेका किसानलाई वर्षाले निराश पारेको छ ।

नेपालगञ्ज–१७ थुकैलागाउँकी किसान मायावती यादवले वर्षभरि खाने धान क्षणभरमै भिजेर नष्ट भएको बताइन् । उनले भनिन्, “धान काटेको तीन दिन भयो, दिपावली मनाएर घर लैजाने भनेको पानीले रुझायो, अब धान र पराल काम नलाग्ने भयो ।”

बेमौसमी वर्षाले धान स्याहार्न नपाएका यहाँका किसानलाई चिन्तित बनाएको छ । कृषि ज्ञान केन्द्र बाँकेका कार्यालय प्रमुख वरिष्ठ कृषि अर्थविज्ञ विनोद घिमिरेले बेमौसमी वर्षाले काटेको धानमा ठूलो क्षति पुर्याएको बताए।

“अचानक परेको पानीले अन्य बालीमा असर नपुगे पनि काटेको धानलाई क्षति पुर्याएको छ, के कति क्षति भयो भन्ने तथ्याङ्क सङ्कलनमा लागेका छौँ”, उनले भने, “बाँकेमा छिटो पाक्ने धान किसानले स्याहारिसकेका छन्, ढिलो पाक्ने धान भित्र्याउने बेला क्षति पुगेको छ ।”

उहाँले छिटो पाक्ने धान रोपेका बाँकेका अधिकांश किसानले धान स्याहारेर गहुँ, तोरीखेतीका लागि खेत तयारी गरिरहेको जानकारी दिए । करिब ६० प्रतिशत बढी किसानले धानबाली भित्र्याइसकेको अनुमान रहेको प्रमुख घिमिरेले बताए । बाँकेमा यो वर्ष धान उत्पादन बढ्ने अनुमान गरिएकामा बेमौमी वर्षाले धानबालीमा क्षति पुर्याएको छ ।

२०,कार्तिक.२०८१,मंगलवार ११:१२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्