बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पुनर्निर्माणपछि सञ्चालनमा

काठमाडौं । इलामको माइखोलामा आएको बाढीले क्षति पुर्‍याएको काबेली करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन पुनर्निर्माणपछि सञ्चालनमा आएको छ ।

गत १२ असोजमा माइखोलामा आएको बाढीले काबेली करिडोर प्रसारण लाइनअन्तर्गत इलामको माई नगरपालिका वडा नम्बर १ र ७ स्थित धोद्रेबेसीमा ४ वटा टावरमा क्षति पुर्‍याएको थियो ।

नेपाल विद्युत् प्राधिकरण र काबेली करिडोर प्रसारण लाइनमा विद्युत् जोडिएका निजी क्षेत्रका २० जलविद्युत् आयोजनाहरूले संयुक्त रूपमा पुनर्निर्माण तथा पुनर्स्थापना गरी सञ्चालनमा ल्याएका हुन् । सोमबार दिउँसो ४.३० बजेदेखि प्रसारण लाइन सञ्चालनमा आएको हो ।

काम सुरु गरेको १९ दिनमा काम सम्पन्न गरी प्रसारण लाइन सञ्चालनमा ल्याइएको निजी क्षेत्रकातर्फबाट पुनर्निर्माणमा खटिएका ऊर्जा उद्यमी मोहन कार्कीले बताए । प्रसारण लाइन सञ्चालनमा आएसँगै ताप्लेजुङ, पाँचथर र इलाममा सञ्चालनमा रहेका आयोजनाहरुले विद्युत् उत्पादन सुरु गरेका छन् । आयोजनाहरूबाट १२ असोजदेखि विद्युत् उत्पादन बन्द थियो ।

प्राधिकरण र निजी क्षेत्रले संयुक्त रूपमा पुनर्निर्माण अगाडि बढाएका थिए । प्राधिकरणले प्रसारण लाइनका पाटपूर्जाहरू लगायतका सामग्री उपलब्ध गराएको छ । निजी क्षेत्रका जलविद्युत् आयोजनाहरूले श्रम लागत खर्च बेहोरेका छन् । यसका लागि प्रत्येक आयोजनाले निश्चित रकम योगदान गरेका छन् । निजी क्षेत्रले कार्कीको नेतृत्वमा टोली खटाएका थिए ।

काबेली करिडोर प्रसारण लाइन अन्तर्गत इलामको गोदकबाट झापाको दमकसम्मको खण्डको धोद्रेबेसीमा ५०,५१,५२ र ५३ नम्बर टावरलाई माइखोलाको बाढीले क्षति पुर्‍याएको थियो । त्यस स्थानबाट प्रसारण लाइनलाई माइखोला पार गराएको थियो । उक्त स्थानमा प्रसारण लाइनको स्पान साढे सात सय मिटर रहेको छ ।

चारवटा टावरमध्ये बाढीले ५१ र ५२ नम्बर टावरलाई पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । बाढीले उक्त टावर ढालेको थियो । त्यहाँ अर्को नयाँ टावर बनाएको हो ।

५० र ५३ नम्बर टावरमा आंशिक क्षति पुगेको थियो । ५० नम्बर टावरको टुप्पोको संरचनामा क्षति पुगेको थियो । ५३ नम्बर टावरको क्रस आर्म र टुप्पोको संरचनामा क्षति पुगेको थियो । दुवै टावरको मर्मत गरिएको थियो ।

२०,कार्तिक.२०८१,मंगलवार १३:०१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्