विराटनगर । विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) ले वितरण गरेको राहतमा अनियमितता भएको आरोप लागेको छ । गएको असोजमा आएको बाढीबाट विस्थापित भएकाहरूलाई वितरण गरिएको राहत रकममा अनियमितता भएको आरोप लागेको छ ।
विश्व खाद्य कार्यक्रम अन्तरगत बाढीबाट प्रभावित भएका र विस्थापित भएकाहरूलाई राहत रकम वितरण गर्ने काम सेवक नेपाल नामक गैर सरकारी संस्थाले गरेको थियो । राहत वितरणमा अनियमितता भएको आरोप लागेपछि अहिले राहत वितरण रोकिएको छ ।
सुनसरीको भोक्राह नरसिंह, हरिनगर र वराहक्षेत्र नगरपालिकाका बाढी पीडितका नाममा आएको डब्लूएफपीको बजेटमा अनियमितता भएको भन्दै विरोध भएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले वितरण कार्य रोक्न निर्देशन दिएको हो ।
गत असोज दोस्रो साता आएको बाढी तथा डुबानमा परेका पीडितहरूलाई विश्व खाद्य कार्यक्रम अन्तर्गत प्रति परिवार नगद १५ हजारको दरले वितरण कार्यको जिम्मेवारी सेवक नेपालले पाएको थियो ।
उक्त एनजि ओले वडाहरूको सिफारिसमा भोक्राहका १ हजार ४ सय ४५ परिवारलाई १५ हजारको दरले २ करोड १६ लाख ७५ हजार रुपैयाँ र वराहक्षेत्रका १ हजार १ सय ९२ परिवारलाई १ करोड ७८ लाख ८० हजार रुपैयाँ वितरण सुरु गरेको थियो ।
पालिकाले राजनीतिक आस्थाका आधारमा राहत पाउनेको लिस्ट उपलब्ध गराएको भन्दै स्थानीयले विरोध गरेका हुन् । स्थानीयले वितरणमा अनियमितता भएको भन्दै सुरुवातमै विरोध भएपछि राहत वितरण स्थगित गरिएको सुनसरी प्रशासनले जनाएको छ ।
राहत वितरणमा भेदभाव गरिएको भन्दै स्थानीयहरूले एक महिना अघि प्रदर्शन चर्काउनुको साथै भोक्राह नरसिंह गाउँपालिकाको कार्यालय तोडफोड गरेका थिए । सो क्रममा प्रहरीसँग झडप हुँदा केही प्रहरी र प्रदर्शनकारी घाइते भएका थिए ।
अनियमितता भएको भन्दै स्थानीयले एक महिना यता भोक्राह नरसिंह गाउँपालिकाको कार्यालयमा धर्ना तथा नारा जुलुस गरिएका छन् । राहत वितरणलाई प्रभावकारी बनाउन वडा तहमा गठन गरिएको विपद व्यवस्थापन समितिले प्रमाणित गरेको आधार वडा कार्यालयले पीडितहरुको सिफारिस गर्ने र उनीहरूको बैङ्क खाता खोलेर राहत रकम हाल्दिने व्यवस्था गरिने सुनसरीका प्रमुख जिल्ला अधिकारी रामचन्द्र तिवारीले जानकारी बताए ।
यसअघि बाढी पीडितलाई नगद नै हस्तान्तरण गर्दा झडपको अवस्था आएको र त्यसलाई व्यवस्थित बनाउन बैङ्किङ प्रणालीबाट वितरणको लागि तयारी गर्नुपर्ने भएकाले वितरण कार्य स्थगित भएको प्रजिअ तिवारीले बताए ।
भोक्राह र वराहक्षेत्रमा ४६ प्रतिशत पीडितलाई राहत बाँडे पनि ५४ प्रतिशतलाई बाँड्न बाँकी छ । हरिनगरमा पीडितहरूको तथ्याङ्क तयार पार्न सर्वदलीय समिति गठन गरिएको छ ।
बाढी पीडितलाई प्रदान गरिएको रकममा वडाका जनप्रतिनिधिले मनोमानी गरेको भन्दै भोक्राहमा प्रदर्शन तथा तोडफोड भएपछि हरिनगरमा वितरणलाई प्रभावकारी बनाउन सर्वदलीय समिति गठन गरिएको गाउँपालिका अध्यक्ष गफार अन्सारी मियाले जानकारी दिए ।
सेवक नेपाल भोक्राह नरसिहका कार्यक्रम अधिकृत सञ्जीव खड्काले पालिकाले उपलब्ध गराएको नाममा विवाद भएको बताए । उनले भने, हामीले पालिकाले उपलब्ध गराएको नामका आधारमा राहत दिने हो । यसमा हाम्रो भन्दा पनि पालिकाको समस्या छ ।
विश्व खाद्य कार्यक्रम अन्तरगत सेवक नेपालले कोशी बेसिनमा रहेका सुनसरीका पालिकाहरूमा बाढी प्रभावितहरूलाई ३ वर्ष देखि राहत वितरण गर्दै आएको छ । सो कार्यक्रम सुनसरीको वराहक्षेत्र, कोशी, भोक्राहा हरिनगर गाउँपालिकामा सञ्चालित छ ।
प्रतिक्रिया दिनुहोस्