ट्राफिक प्रहरीले चाबी खोस्ने निर्णय रोक्न माग गर्दै उच्च अदालतमा रिट दर्ता

काठमाडौँ । सवारी चेकजाँचका क्रममा ट्राफिक प्रहरीले सवारी चालकको चाबी खोस्ने निर्णयमा रोक लगाउन माग गर्दै उच्च अदालत पाटनमा रिट निवेदन दर्ता भएको छ । कानुनका विद्यार्थी विवेक चौधरीले ट्राफिक प्रहरीको उक्त कार्य कानुन स्वमत नभएको दाबीसहित रिट दायर गरेका हुन् ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को दफा १६४ मा प्रहरीले तत्काल सजाय गर्न सक्ने प्रावधान रहेको छ र दफा १६० मा दण्ड सजायको प्रावधान रहेको छ तर ट्राफिकले सुरुमै चाबी खोस्ने अभ्यास गरेकाले रोक लगाउन रिटमा माग गरिएको छ ।

ऐनको दफा १३१ मा प्रहरी वा यातायात निरीक्षकलाई जाँचबुझ गर्ने अधिकार दिएको तर सवारी चालकको सवारीको चाबी खोस्ने अधिकारको प्रावधान नरहेकोले उक्त कार्य गैरकानुनी हुने रिटमा दाबी गरिएको छ ।

बिना उचित कानुनी आधार मनमानी रूपमा सवारी चालकको चाबी खोस्ने, जबरजस्ती निकाल्ने जस्तो कार्य गरिनुले गरिमा र अनावश्यक राज्य हस्तक्षेपले स्वतन्त्र जीवन बाँच्ने अधिकारमा हानि पुर्‍याउने रिटमा दाबी गरिएको छ ।

यस्तो कार्यले नेपालको संविधानको धारा १६ को विपरीत हुने रिटमा उल्लेख छ । उक्त धारामा सम्मानपूर्वक बाँच्न पाउने हकको हनन हुने रिटमा भनिएको छ ।

२१,कार्तिक.२०८१,बुधबार १५:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्