विराटनगर । मोरङ ग्रामथान गाउँपालिकामा मङ्सिर १६ गते हुने उप निर्वाचनमा अध्यक्ष पदका लागि एमालेले ११ जना आकाङ्क्षीको नाम माथिल्लो कमिटीमा सिफारिस गरेको छ ।
एमाले ग्रामथान गाउँ कमिटीले अध्यक्षका लागि ११ जना आकाङ्क्षी देखिएपछि उनीहरूको नाम जिल्ला कमिटीमा सिफारिस गरेको हो । जिल्लाले पनि ११ जनाकै नाम सुझाव सहित प्रदेश कमिटीमा पठाएको छ ।
पालिका र जिल्ला पठाएको नामका आधारमा कार्त्तिक २४ गते उम्मेदवारको नाम टुङ्गो लगाउने एमाले मोरङका इन्चार्ज जीवन घिमिरेले बताए । उनले प्रदेशले फाइनल गरेर पठाएको नामका आधारमा कार्त्तिक २६ गते उम्मेदवारको नाम सार्वजनिक गरिने बताए ।
ग्रामथान गाउँपालिकाको अध्यक्षको उम्मेदवारकालागि पूर्व अध्यक्ष शिवनारायण माझी, तुलसीराम विश्वास, कृष्णकुमार माझी, एकराज घिमिरेको नाम एमाले ग्रामथान गाउँ कमिटीले सिफारिस गरेको छ ।
यस्तै आस नारायण माझी, तुलसी विश्वास, नमनारायण चौधरी, युवराज खनाल, निर्मला अधिकारी, नवीनकुमार मण्डल र ध्रुवकुमार श्रेष्ठको नाम पनि सिफारिस भएको छ ।
ग्रामथानको अध्यक्षको उम्मेदवारको रूपमा मा ११ जनाको नाम सिफारिस भए पनि शिवनारायण माझी, तुलसीराम विश्वास र कृष्णकुमार माझी मध्ये एक जनाले टिकट पाउने देखिएको छ ।
शिवनारायण यस अघि २०७४ को निर्वाचनमा पालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उनी ७९को निर्वाचनमा भने जयप्रकाश गच्छदार थारुसँग पराजित भएका हुन् ।
अध्यक्षको उम्मेदवारको दाबी गरिरहेका कृष्णकुमार माझी भने तत्कालीन झोरा हाट गाउँ विकास समितिका अध्यक्ष हुन् । उनी २०५४ सालमा एमालेका तर्फबाट झोरा हाट गाविसमा अध्यक्षमा विजयी भएका थिए ।
२०७४ मा भने उनी ग्रामथान वडा नम्बर २ मा वडाध्यक्षमा विजयी भएका थिए । अध्यक्षको उम्मेदवारका आकांक्षी तुलसीराम भने एमाले ग्रामथान गाउँ कमिटीका उपाध्यक्ष हुन् । उनी ७९को निर्वाचन अघि नेपाली काङ्ग्रेसबाट एमाले प्रवेश गरेका हुन् ।
२०७९ मा सम्पन्न स्थानीय तह निर्वाचन एमालेका माझी नेपाली काँग्रेसका जयप्रकाश गच्छदारसँग १ हजार ५१२ मतान्तरले पराजित भएका थिए ।
२०७४ को स्थानीय तह निर्वाचनमा गच्छदार माझीसँग ५९ मतान्तरले पराजित भएका थिए । थारुले ७ हजार ६०५ मत पाएका थिए भने माझीले ६ हजार ९३ मत पाएका थिए ।
नेपाली काङ्ग्रेसबाट निर्वाचित गच्छदारको असार ३ गते निधन भएपछि उप निर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि नेकपा माओवादी केन्द्रले काङ्ग्रेसबाट हालै पार्टी प्रवेश गरेका ग्रामथान १ का पूर्व वडाध्यक्ष नमोनारायण माझीलाई उम्मेदवार बनाउने निर्णय गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्