माओवादीको विरोध सरकारमा नहुनुको छटपटी : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (माओवादी केन्द्र) को विरोध र आन्दोलन सरकारमा नरहनुको छटपटी भएको बताएका छन् ।

विराटनगरमा सोमबार साँझ पत्रकारहरुको जिज्ञाशामा प्रधानमन्त्री ओलीले हुँदै नभएका कतिपय विषयलाई अनावश्यक विवादको मुद्धा बनाउन नहुने पनि जोड दिए ।

अमेरिकी स्टेट सपोर्ट प्रोग्राम (एसपीपी) मा सरकारले सम्झौताको तयारी गरेर राष्ट्र र राष्ट्रियतालाई कमजोर पार्न खोजेको भन्ने प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आरोपका सम्बन्धमा ओलीले अहिले एसपीपीको कुनै कुरा वा चर्चा नै नभएको जवाफ दिए ।

संविधान संशोधनका लागि आयोग गठन हुन्छ भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले यो विषय संसद्को विषय भएकाले आयोग गठन गरिरहनु नपर्ने जनाए ।

सरकारको निर्देशनबमोजिम नेपाल विद्युत् प्राधिकरणले लाइन काटिएका उद्योगमा लाइन जोडिएको छैन नि भन्ने प्रश्नमा प्रधानमन्त्री ओलीले भने, “नजोडिएको भए हेर्दै जाउँ । हामी उद्योग र कलकारखानालाई काम गर्न सक्ने र आर्थिक समृद्धिका लागि आवश्यक काम गर्दै जानेछौँ ।”

धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको १३ औँ दीक्षान्त समारोहबाट प्रधानमन्त्री ओली विराटनगर हुँदै काठमाडौँँ फर्किएका थिए ।

२७,कार्तिक.२०८१,मंगलवार ०९:२१ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्