रुपन्देहीमा पूर्व गृह मन्त्री लामिछानेले पत्रकारसँग बोल्ने आशंकामा प्रहरीको घेराबार, ९ घण्टा देखि बयान जारी(भिडियो सहित)

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको भैरहवामा जारी बयान बुधबार दोस्रो दिन पनि सकिएको छैन । मंगलबार भैरहवा ल्याइएका उनीसँग बुधबार विहान सवा १० बजेदेखि सांझ सवा ७ बजेसम्म बयान लिइएको थियो ।

जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधिवक्ता प्रेमराज पौडेल, इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी विजयराज पण्डित, जिल्ला प्रहरी कार्यालयका अनुसन्धान अधिकारीहरु लगायतको उपस्थितिमा लामिछानेको बयान लिइएको हो ।

करिब ९ घण्टा बयान लिइएको र अझै नसकिएको जिल्ला सरकारी वकिलको कार्यालय रुपन्देहीका प्रमुख न्यायाधिवक्ता प्रेमराज पौडेलले बताए । ‘बयान लिने काम अन्तिमतिर आएको छ, सकिएको छैन, बयान रुजु गर्ने र रोलक्रम गर्न बाँकी छ, भोलि (बिहीबार) १० बजेदेखि पुनः बाँकी बयान हुन्छ’, पौडेलले भने ।

बयान पूरा गर्न कति समय लाग्छ भन्न सकिने अवस्था पनि नरहेको उनले बताए । ‘उहाँविरुद्ध परेको सहकारी ठगीको कसुरमा केन्द्रित रहेर नै सवाल जवाफ भएका छन् उहाँको सहमतिमा नै सहज रुपमा जवाफ आएका छन्’, पौडेलले भने ।

बुधबारको प्रदर्शनमा रवि लामिछानेका समर्थक र प्रहरीबीच अदालत अगाडिको व्यारिगेडमा ठेलमठेल भएको थियो ।

लामिछाने प्रबन्ध निर्देशक रहेका बेला रुपन्देहीको सुप्रिम सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगिएको विषयमा प्रहरीले अनुसन्धान गरिरहेको हो । यो सहकारीबाट २ करोड रुपैयाँ रवि लामिछानेकै नाममा पनि निकास भएको भेटिएको थियो ।

लामिछानेलाई सरकारी वकिलको कार्यालय लैजाने र ल्याउने क्रममा पत्रकारले फोटो समेत लिन नपाउने गरी प्रहरीले कडा सुरक्षा घेरा बनाएको थियो ।

सरकारी वकिलको कार्यालयमा ठूलो संख्यामा प्रहरी अधिकृतहरु नै खटिएर प्रहरीको घेरामा नै बयान कक्षसम्म पुर्‍याइएको थियो । आजको बयान पछि उनलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

पोखरा र रुपन्देहीमा एकै प्रकृतिको कसुर भए पनि जिल्ला र संस्था फरक–फरक भएकाले लामिछानेबिरुद्ध रुपन्देहीमा छुट्टै मुद्दा दर्ता हुने रूपन्देही प्रहरी प्रमुख प्रहरी उपरीक्षक रञ्जितसिंह राठौरले बताए । ‘जति जिल्लामा उजुरी दर्ता हुन्छ, त्यहींको कागजात र प्रमाणअनुसार नै प्रक्रिया अघि बढ्ने हो, एकै प्रकृतिको कसुरमा एकै चरणमा अनुसन्धान भए पनि गाभ्न मिल्दैन’, उनले भने ।

अहिलेसम्म पक्राउ अनुमति लिइएका र अनुसन्धान गर्नुपर्ने देखिएका अन्य व्यक्तिहरूविरुद्ध पनि रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता गर्ने तयारी रहेको राठौरले जानकारी दिए ।

पहिलो दिन मंगलबार दिउसो १ बजेपछि करिब २० वटा मौखिक प्रश्नहरु सोधिएकोमा लामिछानेले इन्कारी बयान दिएका थिए । रविको विरुद्धमा परेको सहकारी ठगी सम्बन्धी कसुरमा पहिलो दिन ३ घण्टा ३५ मिनेट बयान लिइएको थियो ।

पोखराको सूर्य दर्शन सहकारीको रकम हिनामिनामा संलग्न रहेको आरोपमा पक्राउ परेका लामिछानेमाथि बुटवलमा रहेको सुप्रिम सहकारीको रकम समेत हिनामिनामा संलग्न रहेको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका उनलाई सूर्यदर्शन सहकारीमा अनुसन्धान सकिएकाले सुप्रिमको अनुसन्धान गर्न मंगलबार रुपन्देही ल्याइएको हो ।

रुपन्देही जिल्ला अदालतले रवि लामिछाने र छविलाल जोशीसहित १२ जनाविरुद्ध ८ कात्तिकमा पक्राउ पूर्जी जारी गरिसकेको थियो ।

प्रहरीले बुटवलस्थित सुप्रिम ऋण तथा बचत सहकारी संस्थाको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर खर्च गरेको कसुरमा अनुसन्धान गरिरहेको छ । बुटवलस्थित सुप्रिम सहकारीबाट एक करोड ९६ लाख रवि लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

रुपन्देही ल्याएसँगै रास्वपा र सहकारी पीडित दुवै पक्षले दिनभर प्रदर्शन जारी राखेका छन् ।

२८,कार्तिक.२०८१,बुधबार २०:४९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्