देउखुरी । घोराही उपमहानगरपालिका–५ धर्नामा रहेको धारापानीमा चहलपहल बढेको छ । धारापानी स्थानीय र बाह्य पर्यटकको घुमघामको रोजाइको स्थान बन्दै गएको छ ।
बाँके बैजापुरका सुरेश चौधरी साथीहरुसँग शनिबारको छुट्टीमा धारापानीमा घुम्न आएका छन् । कक्षा १० मा पढ्ने उनी धारापानीको चर्चा धेरै सुनेकाले आफैँले देख्न मन लागेर आएको बताउँछन् । ‘त्रिशूल र ॐपोखरी मन्दिरभित्र रहेको पार्कमा बिसाउँदा आनन्द आयो, फोटो पनि खिचेका छौँ, गाउँमा सबैलाई देखाउँछौँ र घुम्न जानु भन्छौं’, उनले भने । धारापानीको जलाशयमा डुङ्गामा सयर गर्दा झन् धेरै रमाइलो लागेको चौधरीले बताए ।
बर्दिया राजापुरकी सबिना केसी शनिबारको दिन साथीहरुसँग वनभोजका लागि धारापानी पुगेकी छन् । यसअघि कुरा मात्रै सुनेको, अवलोकन गर्ने मौका नमिलेका कारण यस पटक धारापानीलाई गन्तव्य बनाएको उनले बताइन् ।
पछिल्लो समय पार्कसहितको पोखरीले झनै राम्रो भएको उनको भनाइ छ ।
घोराही बजारदेखि नौ किलोमिटर दक्षिण भागमा पर्ने धारापानी मन्दिर निजी सवारी साधन, बस र अटोरिक्साबाट सजिलै पुग्न सकिन्छ । सो स्थानसम्म सडक पक्की भएकाले स्थानीय तथा बाह्य पर्यटकहरुको उपस्थितिले चहलपहल भएको हो । धारापानीमा ५५ दशमलव पाँच फिट उचाइको पञ्चधातुको त्रिशूल निर्माण भएपछि धेरै जिल्लाका पर्यटकहरुको गन्तव्य बनेको हो ।
पछिल्लो समयमा बिदाको दिन परिवारसँग र साथीभाइ मिलेर घुम्न आउने तथा मङ्सिर महिना सुरु भएदेखि वनभोज खान आउने नागरिकको सङ्ख्या धेरै रहेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गणेशकुमार अधिकारीले बताए । अघिल्लो शनिबार २२ समूह वनभोजका लागि आएको उनको भनाइ छ ।
दाङ र छिमेकी जिल्ला रुकुम, रोल्पा, सल्यान, प्यूठानसँगै, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर, कपिलवस्तु, रुपन्देही, पाल्पा, सुर्खेत, जुम्ला, जाजरकोटलगायत अन्य जिल्लाबाट पर्यटक आउने गरेको उनले बताए ।
मन्दिरमा जिल्लाभित्रका पर्यटक मात्रै नभई छिमेकी देश भारतबाट पनि प्रशस्त भक्तजन आउन थालेका छन् । यातायातको सुविधा र घोराही बजारको नजिकै भएका कारण पनि पर्यटकको रोजाइको विषय बनेको हो । ‘दाङ आएका मानिस धारापानी नपुगेर फर्केको छैन जस्तो लाग्छ’, उनले भने ।
वनभोजका लागि प्रायः सबैजसो महिना भीडभाड हुने गर्छ । विश्वको सबैभन्दा अग्लो त्रिशूल, १०८ शिवलिङ्ग, १०८ वरपीपल जोडी, १०८ समीका वृक्ष, ॐकुण्ड, पाण्डव शयन शिला, विभिन्न देवीदेवताका मन्दिर, वनजङ्गल त्यहाँ पुग्ने पर्यटकको रोजाइ बन्ने गरेको छ ।
नजिकै सरयू गङ्गा बबई नदी र वरपर हरियाली वातावरण भएका कारण पनि दैनिक हजारौँको सङ्ख्यामा बाह्य र आन्तरिक पर्यटक घुम्न आउँछन् ।
मन्दिर व्यवस्थापन समितिका सचिव विष्णुराम आचार्यले मन्दिर प्रवेशगेट निर्माण र गेटदेखि मन्दिरसम्मको बाटोमा इँटा बिछ्याएर सबैलाई सहज पुग्न सक्ने व्यवस्था गरेको बताए ।
‘गाडी पार्किङको व्यवस्था, सिमसार क्षेत्रलाई संरक्षण गरेर तलाउ निर्माण गरेका छौँ अहिले दुईवटा डुङ्गा सञ्चालनमा रहेका छन्’, उनले भने ।
गुरुयोजना, दाता र राज्यको लगानीमा अगाडि बढेको आचार्यले बताए । धारापानी मन्दिरको सिरान सुनकोटमा देवीको मन्दिर तयार भइसकेको र भक्तजनको उपस्थिति पनि रहने गरेको उनले जानकारी दिए ।
धारापानी धामलाई धार्मिक र पर्यटकीय ग्रामका रुपमा विकसित गर्नका लागि दुईवटा खाजा घर, १२ पूजा सामग्री पसल र एउटा कोसेली घर सञ्चालनमा रहेको सचिव आचार्यले बताए ।
कोसेली घर स्थापना
उपमहानगरपालिकाको आर्थिक सहयोगमा धारापानीमा कोसेली घर स्थापना भएको छ । कोसेली घरमा स्थानीय उत्पादन राखिएको छ । स्थानीयस्तरमा उत्पादन भएका वस्तुलाई बिक्री गर्ने उद्देश्यले कोसेली घरको स्थापना गरेको मन्दिर व्यवस्थापन समिति कोषाध्यक्ष बोधिप्रसाद अधिकारीले जानकारी दिए ।
दाङमा उत्पादन भएका माटोका भाडा, बाँसका सामग्री, दाल, मसौरा, सिन्की (गुन्द्रुक), सिमठारो चामल जस्ता उत्पादनले दाङको पहिचान दिने भएकाले यस्ता वस्तु बिक्रीका लागि कोसेली घर निर्माण गरिएको उनले बताए ।
आन्तरिक र बाह्य पर्यटकलाई स्थानीय उत्पादन चिनाउने तथा स्थानीयले उत्पादन गरेको वस्तु बिक्री केन्द्र गर्ने माध्यम भएको अधिकारीको भनाइ छ ।
जलाशयले थप्यो रौनकता
घोराही–५ धारापानी मन्दिरमा पर्यटकको आकर्षणका लागि जलाशयले रौनकता थपेको छ । पाण्डवेश्वर धार्मिक क्षेत्रको बृहत् पर्या–पर्यटन आयोजनाअन्तर्गत लुम्बिनी प्रदेशको उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयबाट विनियोजन भएको एक करोड रुपैयाँको लागतमा बृहत् जलाशय निर्माण गरिएको हो ।
चार बिघा क्षेत्रफलमा फैलिएको जलाशय अहिले यहाँ आउने पर्यटकका लागि आकर्षणको केन्द्र बनेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष अधिकारीले जानकारी दिए । यहाँ आउने भक्तजन र पर्र्यटकलाई जलाशयको डुङ्गा सयर गर्दा थप आकर्षण भएको उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्