काठमाडौ । नेपाल भ्रमणमा रहेका कोसोभोका स्थानीय सरकार तथा प्रशासनमन्त्री एल्बर्ट क्रिस्निक र ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनबीच भेटवार्ता भएको छ ।
मन्त्री एल्बर्ट प्रतिनिधिमण्डलको टोलीले महानगर प्रमुख महर्जनसँग पुल्चोकस्थित महानगर कार्यालयमा भेटवार्ता गरेको हो ।
नेपालमा स्थानीय सकारको अभ्यास, उपलब्धि, अवसर र चुनौतीका बारेमा मन्त्री एलबर्टको टोलीले जानकारी लिएको छ ।
हेल्भेटास नेपालद्वारा नेपालमा सञ्चालित कार्यक्रमबारे अध्ययन गर्ने सिलसिलामा कोसोभो टोली सोमबार नेपाल आइपुगेको हो ।
भेटमा मन्त्री एल्बर्टले कोसोभोको भौगोलिक, राजनीतिक अवस्थाबारेमा जानकारी गराएका थिए । साथै उनले कोसोभोमा रहेका पालिकाहरूको प्रविधि, ज्ञान, सिप र असल अभ्यास ललितपुर महानगरमा भित्र्याउन र अनुभव आदानप्रदान गर्न सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।
भेटमा महानगर प्रमुख महर्जनले नेपालमा तीन तहको सरकार रहेको बताउँदै संघीय र प्रदेश सरकारले स्थानीय सरकारलाई क्षेत्रगत रूपमा सहयोग गर्ने गरेको बताए ।
महानगरभित्रको सम्पदा संरक्षणमा प्रशस्तै काम भएको भन्दै उनले पेट्रोल, डिजेलबाट चल्ने सवारीसाधनले वातावरण प्रदूषण बढाउने भएकोले पछिल्लो समय विद्युतीय सवारीसाधनको प्रयोगलाई प्राथमिकतामा राखेको जानकारी गराए ।
महानगर प्रमुख महर्जनले एक पटकको मात्रै नेपाल भ्रमण पर्याप्त नभएको बताउँदै पुनः आउन निम्तो दिए ।
प्रतिक्रिया दिनुहोस्