कालीमाटीको सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको पोष्टमार्टम रिपोर्ट

काठमाडौं । कालीमाटीस्थित सडकमा मृत भेटिएकी महिलाको हत्या नभएको खुलेको छ ।

उदयपुर घर भएकी ४५ वर्षीया जानुका सुर्खेती मृत फेला परेपछि प्रहरीले पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाएको थियो । अस्पतालल पोष्टमार्टम रिपोर्टबारे प्रहरीलाई जानकारी गराएको छ । जसअनुसार सुर्खेतीको हत्या नभई कलेजो रोगबाट मृत्यु भएको उल्लेख गरिएको प्रहरी स्रोतले जानकारी दियो ।

‘कज अफ डेजमा लिभर डिजिज उल्लेख छ,’ एक अनुसन्धान अधिकारीले भने । सडकमा मृत फेला परेकी ती महिलाको शव बोकेर एक युवकले सडक पार गरेका थिए ।

महिलाको शव बोकेर फालेको आरोपमा पक्राउ बझाङको बित्थडचिर गाउँपालिका-९ घर भएका २२ वर्षीय कविन्द्र मल्ललाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

मल्ललाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले ८ मंसिरमा कुलेश्वरबाट पक्राउ गरेको थियो । ८ मंसिरको बिहान कालीमाटीस्थित संगीतकारमार्गमा एक महिलाको शव भेटिएको थियो । नाम, थर र वतन नखुलेकी महिलाको शव भेटिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो । सो क्रममा सीसीटीभी फुटेजमा युवकले महिलालाई बोकेर त्यहाँ फालेको देखिएको थियो ।

पक्राउ परेका मल्लविरुद्ध यसअघि ९ पटकसम्म विभिन्न कसुरमा मद्दा चलेको थियो ।

१३,मंसिर.२०८१,बिहीबार १२:२२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्