काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यमा गिरावट आएको छ । बुधबार १० प्रतिशतले बढेको यस कम्पनीको शेयरमूल्य बिहीबार ६.८४ प्रतिशतले घटेको हो ।
नेप्सेका अनुसार आज यस बैंकको शेयर प्रतिकित्ता ७८८ रूपैयाँमा झरेको छ । जबकी बुधबार यस बैंकको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता ८४५ रूपैयाँ ९० पैसामा पुगेको थियो । बुधबार यस कम्पनीको २० करोड १३ लाख रूपैयाँ बराबरको कारोबार भएको यस बैंकको शेयर आज ११ करोड ४६ लाखको भएको छ ।
यस बैंकलाई नेपाल राष्ट्र बैंकले मंगलबार समस्याग्रस्त घोषणा गरेको थियो । समस्याग्रस्त घोषणा भएको भोलिपल्ट यस बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको थियो ।
कर्णाली डेभलपमेन्ट बैंकको शेयर मूल्यमा अस्वाभाविक चलखेल, सेबोन अध्यक्ष भन्छन्- बुझेर कारबाही गर्छौं
राष्ट्र बैंकले गरेको कर्णाली डेभलपमेन्ट बैंकको निरीक्षणमा बैंक समस्यामा रहेको पाइएको छ । यस बैंकको कर्जा नोक्सानी व्यवस्थामा सुपरिवेक्षकीय समायोजन तोकेबमोजिमको न्यूनतम पुँजीकोष अनुपात कायम नभएको पाइएको छ । यस बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपात ४०.८५ प्रतिशत रहेको छ ।
बैंक समस्यामा रहेकाले निक्षेपकर्ता र सर्वसाधारणको हित संरक्षण गर्ने भन्दै राष्ट्र बैंकले कारबाही गरेको छ । यस बैंकमाथि थप निक्षेप संकलन गर्न, नयाँ निक्षेप खाता खोल्न र थप कर्जा प्रवाह गर्न रोक लगाइएको छ ।
प्रतिक्रिया दिनुहोस्