काठमाडौँ । काठमाडौँ उपत्यकाको वायु गुणस्तर आगामी एक सातासम्म खराब रहने अनुमान गरिएको छ । युरोपेली प्रदूषण मापन संस्था वर्ल्ड एयर क्वालिटी इन्डेक्स (आईक्यूएयर) ले आगामी आइतबार अर्थात् मंसिर २३ गतेसम्म उपत्यकाको हावाको गुणस्तर खराब रहने अनुमान गरेको हो । जस अनुसार वायु गुणस्तर १११ देखि १३८ एक्यू आईसम्म रहने अनुमान गरिएको हो ।
सोमबार ९ः३२ सम्म काठमाडौँ उपत्यकाको वायु गुणस्तर १७२ एक्यूआई छ । विश्वको प्रदूषित सहरमध्ये काठमाडौँ उपत्यका सातौँ नम्बरमा छ ।
स्वास्थ्यका दृष्टिकोणले वायु गुणस्तर सूचकाङ्क ०–५० एक्यूआई हुँदा राम्रो, ५१–१०० एक्यू आई हुँदा मध्यम, १०१–१५० एक्यू आई हुँदा संवेदनशील समूहका लागि अस्वस्थ हुने गर्दछ । यस्तै, सो सूचकाङ्क १५१–२०० एक्यू आई पुगेमा अस्वस्थ, २०१ – ३०० एक्यू आई निकै अस्वस्थ तथा ३०१ भन्दामाथि भएमा खतरनाक तह पुगेको मानिने वातावरण विभागले जनाएको छ ।
एक्यू आई मार्फत हावामा आँखाले देख्न नसकिने प्रदूषणको मात्रा जाँचिन्छ । एक्यू आईले वायुमा मिसिएका आँखाले देख्न नसकिने २.५ माइक्रोन भन्दा साना कण, कार्बन मोनो अक्साइड, सल्फर, नाइट्रोजन अक्साइडको मात्रालाई बुझाउँछ ।
प्रतिक्रिया दिनुहोस्