रुपन्देही । केही सञ्चालकहरुको योजनामा पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका- ६ स्थित जनहित बचत तथा ॠण सहकारी संस्थाका व्यवस्थापक झण्डै ५७ लाख अपचलन गरेर फरार भएको लामो समयसम्म पनि करिब ७०० बचतकर्ताले रकम फिर्ता पाउन सकेका छैनन् । बचतकर्ताहरुले रकम फिर्ताको लागि दबाब दिँदै आए पनि अहिलेसम्म कुनै निकास निस्केको छैन ।
सहकारीको सबै हिसाब लिएर व्यवस्थापक नै फरार भएपछि ऋणीले पनि रकम तिरेका छैनन् । ग्रामीण बस्तीका विपन्न गरिब नागरिकले गाँस काटेर बचत गरेको पैसा अपचलन हुँदा आफूहरु संकटमा परेको उनीहरुको भनाइ छ ।
७० वर्षकी कौशिल्याले आफ्नो वृद्धभत्ता र छोराहरुले दिएको रकम संगाल्दै सहकारीमा २ लाख रुपैयाँ जम्मा गरेको, तर अहिले आफूले बचत फिर्ता पाउन नसकेको गुनासो गरिन् ।
सुस्ता गाउँपालिका- ५ का सुकलाल मियाँ शारीरिक रुपमा अशक्त छन् । उनले पनि उपचार गर्न काम लाग्ला भनेर सामाजिक सुरक्षा भत्ता र आफूसँग भएको केही रकम जम्मा गरेका थिए । सहकारीका ठगहरुले थुप्रै बचतकर्ताको बिल्लीबाठ पारेर फरार भएपछि आफू जस्ता धेरै बचतकर्ताको सपना चकनाचुर भएको उनले गुनासो गरे ।
जिल्लाको दक्षिणी भेगमा बैंक तथा वित्तीय संस्थाको सहज पहुँच छैन । त्यसैले गाउँघरका मानिसहरु मिलेर चलाएको सहकारीमा स्थानीयले रकम जम्मा गरेका थिए । २०७५ सालमा स्थापना भएको जनहित बचत तथा ऋण सहकारीमा बचत गरेका करिब ७०० बचतकर्ताको ५६ लाख ८६ हजार ६३९ रुपैयाँ अपचलन गरेर संस्थाका व्यवस्थापक अविनाशकुमार कुशवाह र सञ्चालक समितिका केही व्यक्ति फरार छन् ।
बचतकर्ताको उजुरीका आधारमा छानबिन समिति गठन गरेको र प्रतिवेदन आएपछि कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाइने गाउँपालिकाका अध्यक्ष उमेशचन्द्र यादवले बताए ।
समितिले अध्ययनको क्रममा सहकारीले बचतकर्ताको रकम र ऋण प्रवाहको अधिकांश रेकर्ड नराखेको, ऋण प्रवाहमा धितो नराख्ने र नगदी रसिदमात्र काट्ने गरेको भेटिएको छ । जसमा व्यवस्थापक अविनाशकुमार एक्लैले ५२ लाख र बाँकी रकम संस्थाका अन्य पदाधिकारीले फिर्ता नगरी अपचलन गरेको उल्लेख छ ।
अहिलेसम्म साधारणसभा नगरेको सहकारीले २०७५ सालमा स्थापना भएयता एक पटकमात्र लेखापरीक्षण गराएको छ । छानबिनमा १० हजार रुपैयाँमात्र नगद मौज्दात भेटिएको छ । छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गरी रकम अपचलनमा संलग्न ७ जनालाई कारबाही र आफ्नो बचत फिर्ता गराइदिन पीडितहरुले माग गर्दै आएका छन् ।
प्रतापपुर गाउँपालिका- ६ का वडाध्यक्ष केशवप्रसाद मरासिनीले सहकारीको व्यवस्थापक अविनाशकुमार कुशवाहले सहकारीको रकम हिनामिना गरेर भागेकाले समस्या भएको र यो विषयमा उनको घरजग्गा नै राखेर बचतकर्ताको रकम मिलाउने प्रयास भए पनि नपुगेर समस्या भएको बताए ।
‘व्यवस्थापकले नै पदाधिकारीलाई फसाएको देखिन्छ, उनी नेपाल छैनन् । सञ्चालक समितिमा पनि यो विषयले तनाव भएको छ । ऋण लिएका केहीले दिएपछि बचत पनि फिर्ता भयो, तर सबैको हिसाब मिलेको छैन, केहीले व्यवस्थापकलाई दिएको बताएका छन्, अदालत गएर घरजग्गा रोक्का भएको छ, त्यतिले रकम पुगेको छैन, पहिलो योजना बचत फिर्ता गर्ने नै हो’, उनले भने ।
प्रतिक्रिया दिनुहोस्