काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेताहरुले पुराना पार्टीका नेताहरुले देश बिगारेको आरोप लगाएका छन् । भक्तपुरको मध्यपुर थिमीमा आयोजित प्रथम जिल्ला भेलालाई शनिबार सम्बोधन गर्ने रास्वपा नेताहरुले पटक–पटक सरकारमा पुगेका कांग्रेस, एमाले लगायत दलले देश बिगारेको आरोप लगाएका हुन् ।
कार्यक्रममा रास्वपाका केन्द्रीय उपसभापति तथा पूर्वमन्त्री डिपी अर्यालले देशमा केही गरौं भन्ने उद्देश्यले राजनीतिमा आएकालाई पनि एमाले नेतृत्वको वर्तमान सरकारले दुःख दिएको गुनासो गरे । नेपालमा वैकल्पिक राजनीतिक शक्ति र नयाँ सोच भएका युवाहरुलाई प्रहार भइरहेको भन्दै सचेत हुन उनले आग्रह गरे । पार्टी सभापति रवि लामिछानेलाई सरकारले राजनीतिक प्रतिशोधका आधारमा दुःख दिएको उनको भनाइ थियो ।
थिमिको निगुपुखू (दुईपोखरी) क्षेत्रमा सम्पन्न कार्यक्रममा संसदीय दलका उपनेता तथा पूर्वमन्त्री विराजभक्त श्रेष्ठले पनि पार्टी सभापति लामिछानेप्रति सरकारले प्रतिशोध साँधेको भन्दै निरन्तर शान्तिपूर्ण बाटोमार्फत भ्रष्टाचार र कुशासनको विरोध गर्न आह्वान गरे ।
कार्यक्रममा प्रमुख सचेतक सन्तोष परियारले नेपाली कांग्रेस, नेकपा एमाले लगायतका दल सिद्धान्त बमोजिम नचल्दा देशमा कुशासन र बेरोजगारी बढेको जिकिर गरे । ‘नेपाली कांग्रेसका संस्थापक नेता बीपी कोइरालाले देखाएको बाटो हिँडेको भए नेपाली युवाहरु बेरोजगार भएर विदेशिनु पर्ने थिएन । मदन भण्डारीले देखाएको जनताको बहुुदलीय जनवाद (जबज) नेकपा एमालेले लागू गरेको भए नेपालमा कुशासन, भ्रष्टाचार र विकृतिले जरो गाड्ने थिएन,’ परियारले भने ।
पुराना राजनीतिक दल सिद्धान्त विपरीत चलेकाले प्राकृतिक नियम बमोजिम नेपालमा वैकल्पिक शक्तिको रुपमा रास्वपाको उदय भएको उनले जिकिर गरे ।
कार्यक्रममा संस्कृति, सामाजिक र साहित्यिक क्षेत्रमा योगदान गरेका गणेशराम लाछी र जिवित सांस्कृतिक धरोहर श्रीगोपाल प्रजापतिलाई सम्मान गरिएको थियो । जिल्ला भेलाको उद्घाटन पश्चात् सुरु हुने बन्दसत्रले राष्ट्रिय स्वतन्त्र पार्टी भक्तपुर जिल्लाको नयाँ कार्यसमिति चयन गर्नेछ ।
प्रतिक्रिया दिनुहोस्