राष्ट्रिय सभामा बहुमत पुर्‍याएपछि मात्रै संविधान संशोधनः एमाले महासचिव पोख्रेल

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले संविधान संशोधनको काम डेढ वर्षपछि हुने राष्ट्रिय सभा सदस्यको निर्वाचनपछि अघि बढ्ने बताएका छन् ।

दाङको लमहीमा आइतबार नेकपा एमाले क्षेत्र नम्बर १ समन्वय कमिटीले आयोजना गरेको पार्टी कार्यकर्ता भेलालाई सम्बोधन गर्दै महासचिव पोख्रेलले संविधान संशोधनको काम उचित समयमा सुरु गरिने बताए ।

‘हामी दुईटा राजनीतिक दल मिल्नुको कारण सरकार मात्रै होइन । राजनीतिक स्थायित्वको आधार तयार गर्न, संविधान र कानुनमा सुधार गर्नेगरी दुई ठूला दलको बीचमा समीकरण बनेको हो’ उनले भने–‘राष्ट्रिय सभामा हाम्रो पक्षको दुई तिहाइ छैन । दुई तिहाइ नपुग्दासम्म संविधान संशोधनको एजेन्डा अघि बढ्न सक्दैन । संविधान संशोधनको विषयमा माओवादीसंग कुरा मिल्ने स्थिति छैन । डेढ वर्ष पछाडि राष्ट्रिय सभाको निर्वाचनपछि त्यहाँको संरचना बदलिन्छ, त्यसपछि संविधान संशोधनको प्रक्रिया अघि बढ्छ ।’

महासचिव पोख्रेलले एमालेलाई आगामी ८४ को निर्वाचनमा बलियो राजनीतिक शक्ति निर्माण गर्ने दिशामा अहिलेदेखि नै सशक्त भएर खट्न कार्यकर्तालाई निर्देशन दिए । उनले अहिले ठूला दुई दलको बीचमा भएको समीकरणले मिलेर चुनाव लड्ने नभइ एक्लाएक्लै प्रतिस्पर्धा हुने बारेमा स्पष्ट रहनुपर्ने बताए ।

हालसालै सम्पन्न उपनिर्वाचनमा रुकुम पूर्वमा भएको जुन प्रकारको तालमेल सहि नभएको भनाइ महासचिव पोख्रेलको छ ।

‘अहिले हामी कांग्रेससंग मिलेका छौं । तर, चुनावको बेलामा हामी एक्लाएक्लै लड्ने हो । अब पूर्वी रुकुममा साथीहरुले के गरे, एमालेको उम्मेदवार कांग्रेसको चुनाव चिन्हमा लड्ने कुरा गल्ती नै हो । त्यसो गर्नुहुँदैन्थ्यो । ठाउँ विशेषमा तालमेल गर्ने कुरा स्थानीय विशेषताको आधारमा हुन पनि सक्ला । तर, आफ्नो, आफ्नो चुनाव चिन्हमा लड्नुपर्दछ’ उनले भने–‘एमाले–कांग्रेसजस्ता पार्टी अर्काको चुनाव चिह्नमा आफ्ना उम्मेदवार खडा गर्ने कुरा चाहिँ उचित कुरा होइन । त्यो गलत कुरा नै हो । वास्तवमा त्यहाँका साथीहरुले गल्ती गरेका हुन् । त्यो गल्तीलाई पार्टीले आलोचना गरेको छ । भविश्यमा यसप्रकारको काम हुने छैन ।’

उपनिर्वाचनको नतिजाले एमालेलाई कमजोर नभइ थप सुदृढ बनाएको दावी उनको छ । यस्तै उनले पार्टी नेतृत्वका विरुद्धमा भइरहेका कुप्रचारका विरुद्ध दृढतापूर्वक उभिन आह्वान गरे।

‘भ्रमपूर्ण सूचनालाई हो कि हो कि भन्नेर बस्ने कि सत्य तथ्य पत्ता लगाउन अघि बढ्ने’उनले भने–‘जे जति कुराहरु प्रचार गरिएका छन् ती सबै भ्रमपूर्ण हुन् । कागले कान लग्यो भनेर कागपछि दौडने कि पहिला कान छोप्ने । पहिला त कान छोप्नुपर्ला नि ।’

गिरिबन्धु टि स्ट्रेट, कम्बोडियामा लगानीका विषयहरुमा भ्रम छर्नेहरु अहिले समस्यामा परेको भन्दै उनले भ्रमको खेति गर्नेहरुलाई कानुनले दण्डित गर्ने समेत बताए। एमालेलाई कमजोर बनाउँदा आफूहरु स्थापित हुन सकिन्छ भन्नेगरी स्वतन्त्र भन्नेहरुले भ्रमको खेती सुरु गरेको टिप्पणी उनको छ। ‘षड्यन्त्रबाट आत्तिने होइन, सामना गर्ने हो । यो पार्टी कमजोर हुनेवाला छैन । विकास र समृद्धिको नेतृत्व गर्ने यहि पार्टी हो’उनले भने–‘पार्टीबाट अलग भएका नेताहरुलाई के लाग्दोहो हामी जहाँ जान्छौं, त्यहाँ ठूलो पार्टी बनाउन सक्छौं । तर, के भयो ?’

२३,मंसिर.२०८१,आईतवार १२:२३ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्