पार्टी एकताका लागि माओवादीले कुन–कुन दलसँग वार्ता गरिरहेको छ ?

काठमाडौँ । शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तीन वामपन्थी पार्टीसँग एकता वार्ता सकारात्मक भएको दाबी गरे ।

माओवादी केन्द्र निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल समाजवादी पार्टी निकट नेपाल शिक्षक समाजबिच एकता घोषणा समारोहलाई काठमाडौँमा सम्बोधन गर्ने क्रममा प्रचण्डले एकता वार्ता भएको दाबी गरेका हुन् । तर त्यो कार्यक्रममा कुन कुन वामपन्थी दलसँग वार्ता भएको खुलाएनन् । यद्यपि वाम एकताको विकल्प नभएकोमा उनले जोड दिएका थिए ।

‘विहानमात्रै एकताको सन्दर्भमा तीन वामपन्थी पार्टीका नेताहरूसँग बढो सकारात्मक संवाद भएको थियो । ती हिजो माओवादी धारासँग सम्बन्धित पनि हुनुहुन्थ्यो । त्योभन्दा बाहिरका समाजवादी धाराका साथीहरू पनि हुनुहुन्थ्यो । उहाँहरू सबैको एउटै कुरा थियो अब एकताबद्ध भएर जानुको विकल्प छैन’, उनले भनेका थिए, ‘नेपाली वामपन्थी आन्दोलन र सङ्घीय लोकतान्त्रिक आन्दोलनलाई ठिक ढङ्गले अगाडि बढाउन एकताको विकल्प छैन भन्ने कुरा सैद्धान्तिक सहमति भएको थियो । अहिले दुई शिक्षक संगठनबिच एकता घोषणा हुनु संयोगमात्र होइन मलाई लाग्दैन । यो अहिले देशको लोकतान्त्रिक आन्दोलनको आवश्यकता हो ।’

प्रचण्डले पछिल्लो समय प्रभु साह नेतृत्वको आम जनता पार्टी र क्रान्तिकारी कम्युनिस्ट पार्टीबाट अलग भएका नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोलासँग एकताका लागि संवाद गरिरहेका छन् । उनीहरूसँग प्रचण्ड निवास खुमलटारमा पटक पटक छलफल भएको छ । चर्चामा माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको समेत चर्चा रहेपनि यसबारे थप पुष्टि हुन सकेको छैन । ‘एकीकृत समाजवादीका नेताहरु आए नआएको थाहा भएन । धर्मेन्द्र बास्तोला र प्रभु साह आउनुभएको थियो । उहाँहरुबिच के कुरा भयो थाहा भएन’, स्रोतले भन्यो ।

हिजो बिहान प्रचण्ड निवासमा गएको बास्तोला र साहले स्वीकार गरेका छन् । तथापि पार्टी एकताभन्दा पनि शान्ति प्रक्रियाको बाँकी काम टुङ्ग्याउने विषयमा भइरहेका कामबारे छलफल गर्न गएको उनीहरूले दाबी गरेका छन् ।

‘समग्र वामपन्थी ध्रुवीकरणको विषयमा छलफल हुनु स्वाभाविक प्रक्रिया नै भइहाल्यो । प्रचण्डजीले भनेजस्तो एकताका लागि खुमलटार गएको होइन । शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन टिआरसी लगायत विषयमा छलफल गर्न गएको हो’, उनले भने ।

यसैबीच माओवादीका उपमहासचिव गिरिराजमणि पोखरेलले अध्यक्ष प्रचण्डले दाबी गरेका समाजवादी धारका दल एकीकृत समाजवादी पनि भएको बताए । राजनीतिक कार्यदिशा र सांगठनिक संरचनामा कुरा नमिल्दासम्म एकीकृत समाजवादीसँग एकता सम्भव नभएको उनको भनाइ छ । एकताका लागि मंसिर २७ गतेदेखि बस्ने स्थायी समिति बैठक र पुस २ गतेदेखि बस्ने केन्द्रीय समिति बैठकले ठोस निर्णय गर्ने उनले जानकारी दिए ।

‘विप्लवजी र महिन्द्रजीको पार्टीसँग एकता गर्ने पहिले नै समझदारी भइसकेको छ । अध्यक्षले भन्नुभएको एकीकृत समाजवादी पार्टी हो । उहाँ(एस)का नेताहरूसँग निर्वाचनअघि नै धेरै चरणको वार्ता भएको थियो । राजनीतिक कार्यदिशा र सांगठनिक संरचनामा सहमति नभएसम्म तत्काल एकता सम्भव छैन’, पोखरेलले भने ।

यता माओवादीसँग पार्टी एकता गर्न लागिएको विषयमा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले कुनै सत्यता नभएको स्पष्ट पारे । निर्वाचन अघि पार्टी एकताका लागि दस्ताबेज आदानप्रदान भएपनि पछिल्लो समय कुनै प्रगति नभएको उनको भनाइ छ। अहिले एकताको विषयभन्दा पनि आन्तरिक रुपमा पार्टीलाई बलियो बनाउन ध्यान केन्द्रित भएको खतिवडाले दाबी गरे ।

‘अहिले माओवादी वा अन्य वामपन्थी पाटीसँग एकता गर्ने कुनै योजना छैन । एकताको विषयमा छलफल गर्न हाम्रा नेताहरु खुमलटार गएको मलाई जानकारी छैन । एकदेशमा एकताको कुरा चलेको हो वैचारिक, राजनीतिक रुपमा स्पष्ट नभएसम्म वामपन्थी धु्रवीकरण हुने कुनै सम्भावना छैन’, उनले भने ।

यसबाहेक लामो समयदेखि माओवादीले माओवादीले नेत्रविक्रम चन्द विप्लवको पार्टी नेपाल कम्युनिस्ट पार्टी र महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादीसँग समेत छलफल गर्दै आएको छ । एकताका सबै विषयमा पुसको पहिलो हप्ता बस्ने केन्द्रीय समिति बैठकले निर्णय गर्ने उपमहासचिव पोखरेलले बताए । माओवादीसँग एकता गर्न नेकपाले गएको वैशाखमा बसेको केन्द्रीय समिति बैठकबाट निर्णय गरिसकेको छ । नेसपा र माओवादीबिच गत चैत ३ गते नै प्रधानमन्त्री निवास बालुवाटारमा चार बुँदे सहमति भइसकेको छ । यी बाहेक नेकपा मसाल, मोहन बैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी लगायत दलहरूसँग छलफल भइरहेपनि कुनै निष्कर्षमा नपुगेको पोखरेलले बताए ।

२३,मंसिर.२०८१,आईतवार १५:३२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्