न्यायाधीशले राखे रविको बारेमा चासो, मादक पदार्थ खाएका प्रहरी लगाएर अपमान गरेको गुनासो

पोखरा । पछिल्लो पटक काठमाडौं र चितवनमा बयान गराएर शुक्रबार रातारात पोखरा ल्याइएका रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइयो । अदालतले ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।

यसअघि १५ दिन म्याद थपेर काठमाडौं र चितवनमा बयान गराएर पोखरा ल्याइएपछि आइतबार कास्की अदालतमा प्रहरीले १३ दिनको समय मागेर रविलाई अदालत उपस्थित गराएको थियो ।

न्यायाधीश हिमलाल बेल्बासेको इजलासले रविलाई ४ दिन हिरासतमै राखेर अनुसन्धान गर्न म्याद थप गर्नुअघि रविलगायतको पछिल्लो अवस्थाबारे चासो राखे ।

इजलासमा आइतबार रविसँगै पूर्वडिआइजीसमेत रहेका गोर्खा मिडियाका पूर्व उपाध्यक्ष छविलाल जोशी, जिबीसँग मिलेर रकम हिनामिना गरेको आरोपमा पक्राउ परेकी लिला पछाइलगायतले आफ्नो कुरा राखे । रविका तर्फबाट कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशील पन्त, हरि सुवेदी र अधिवक्ता नारायण कँडेलले ‘अन्याय भएको’ भन्दै न्यायाधीशको ध्यानाकर्षण गराएका थिए ।

वरिष्ठ अधिवक्ता बेल्बासेले रविलाई चितवनबाट रातारात पोखरा ल्याइएको, बिरामी पर्दा अस्पतालसमेत नलगेको, परिवार र आफ्नो कानुन व्यवसायीलाईसमेत भेट्न नदिएको भन्दै मानव अधिकारीको

गम्भीर उल्लंघन भएको बताए । त्यसलगत्तै न्यायाधीश बेल्वासेले पालैपालो रवि, छवि र पछाइको अवस्थाबारे सोधेका थिए ।

रविले आइतबार अदालतमा दुई पटक बोले । एक पटक आफूमाथि प्रहरीले अभद्र व्यवहार गरेको, औषधी खानसमेत नदिएको, बिरामी हुँदा रातारात पोखरा ल्याइएको बताए भने अर्को पटक सहकारी पीडित कृष्ण जैसीले बोलेपछि फेरि समय मागे । रविले केही सहकारी अभियान्ताले आफूमाथि राजनीति गरेको आक्रोश उनले इजलासमै पोखे ।

इजलासमा रविले विशेषगरी राजनीतिक प्रतिशोध साँधेको, कसरी हुन्छ आफूलाई सिध्याउने मानसिकता सरकारले राखेको बताए । राति ११/१२ बजे ‘माथिको आदेश भन्दै मादक पदार्थ सेवन गरेका प्रहरीले झिंगलझ्याँगल पार्दै पोखरा ल्याइएको रविको दाबी थियो ।

‘पोखराबाट ३ दिन काठमाडौं लगियो । काठमाडौंमा हिरासतको चिसो कोठामा सुत्न सकिरहेको थिइनँ, निद्रा परेको थिएन । त्यहाँबाट लगत्तै चितवन ल्याइयो । ८/९ घन्टाको बयानमा मैले सहयोग गरेकै थिएँ । मेरो बिहानैदेखि टाउको दुखेको थियो,’ रविले अदालतमा न्यायाधीशसँग भने, ‘मलाई गाह्रो भएको छ । अस्पताल लगिदिनुस् भनेर पटक पटक आग्रह गरेँ । बयान सकिएपछि सुत्नका लागि तयार हुँदै थिएँ । त्यहाँका एसपीले आएर तपाईं पोखरा जानुपर्ने भयो भन्नुभयो ।’

भोलिपल्ट बिहान बरू ७ बजे नै जाऔंला आज आराम गर्न दिनुस् भनेर आफूले पटक पटक आग्रह गरेको रविको भनाइ थियो । पोखरा होइन, आफूलाई अस्पताल लगिदिन आग्रह गरेको रविले बताए ।

‘मादक पदार्थ सेवन गरेका केही प्रहरीले आएर जबर्जस्ती उठाएर राख्न खोज्नुभयो, उहाँले मादक पदार्थ सेवन गर्नुभएको छ भनेँ । तपाईंहरूले मलाई कहाँ लैजाने हो, मेरो परिवार र कानुन व्यवसायीलाई फोन गर्ने अवसरमा दिन माग गर्न पनि सुनिएन र जबर्जस्ती गाडीमा राखियो,’ रविले भनेका थिए ।

पोखरा आउनेबित्तिकै अस्पताल गएको र प्रेसर बढेको देखिएको भन्दै कागजातसमेत रविले अदालतमा देखाए । प्रतिशोधको भावनाले आफूलाई ज्यादती गरिएको, परिवारमाथि पनि तनाव दिइएको रविले बताएका थिए ।

आफूले सहकारीको रकम हिनामिना नगरेको र अरुले गरेको गल्तीको भागीदार आफूलाई बनाइएको उनको भनाइ थियो । अहिलेसम्मको अनुसन्धानले नयाँ कुनै तथ्य नदेखाएको भन्दै आफूलाई गलाउनकै लागि देशैभरि डुलाउने, दुःख दिने काम भइरहेको इजलासमा रविले भनेका छन् ।

पूर्व डिआइजीसमेत रहेका गोर्खा मिडियाका छविलाल जोशीले आफूहरूलाई म्याद थप्दै हिरासतमै राख्नेमात्र भएको बताउँदै सरकारको असक्षमतामाथि प्रश्न उठाएका थिए । सरकारले जिबी राईलाई समातेर ल्याउने र ती सहकारी पीडितलाई न्यान दिन नसक्ने तर आफूहरूलाई थुनिराख्ने काम भएको उनको भनाइ थियो ।

जिबीसँग जोडिएकै कारण आफूलाई थुनिएको आरोप लिला पछाइको थियो । ‘सहकारीको रकम हिनामिनामा म कहीँ जोडिएको छैन । जिबीसँग मेरो व्यक्तिगत सम्बन्ध हो । जिबीलाई समातेर ल्याए, सबै थाहा भइहाल्छ,’ लिलाले इजलासमा भनको भनाइ उद्धृत गर्दै अधिवक्ता युवराज पराजुलीले बताए ।

अर्का नेचर हर्ब्सका सञ्चालक रामबहादुर खनालको अवस्थाबारे पनि न्यायाधीश चासो राखे तर उनी भने बोलेनन् ।

जाहेरीवालाका तर्फबाट बहस गर्दै अभिवक्ता पराजुलीले मानव अधिकारको उल्लंघन रविका हकमा मात्र नभएको, रकम हिनामिना हुँदा धेरैको ज्यानै गएको, कतिको घरबाट बिग्रिएको, कति डिप्रेसनमा गएकाले हजारौं सहकारी पीडितको पनि मानव अधिकार उल्लंघन भएको बताएका थिए ।

२३,मंसिर.२०८१,आईतवार १९:३७ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्