‘१० लाख…’ भन्दै हुटिङ गर्ने दर्शकलाई समीक्षाले स्टेजबाटै थर्काइन्

रुपन्देही । गायिका समीक्षा अधिकारी अहिले देश–विदेशका स्टेज कार्यक्रममा निकै डिमान्डेड छिन् । ‘बुझिन मैले बुझाइदेऊ कसैले…’ गीत भाइरल भएदेखि उनको व्यस्तता निकै चुलिएको छ ।

गत शनिवार समीक्षा कपिलवस्तुको बाणगंगास्थित जितपुरमा आयोजित ‘कपिलवस्तु महोत्सव’ मा गीत गाउन पुगिन् । त्यहाँ उनको गीत सुन्न बाक्लै भीड जम्मा भएको थियो । तर, प्रस्तुति दिनुभन्दा अगाडि नै समीक्षालाई नमिठो झट्का लाग्यो, जब दर्शकदीर्घाबाट केही व्यक्तिले उनलाई होच्याउँदै होहल्ला गरे ।

माइक समातेर गीत गाउन ठिक्क परेको बेला दर्शकदीर्घाबाट ‘१० लाख… १० लाख…’ को आवाज समीक्षाको कानामा ठोक्किएको थियो । यस्तो शब्दले उनको पारो तातिहाल्यो । उनले आफूलाई जवाफ दिनबाट रोक्न सकिनन् । हुटिङ गर्ने दर्शकतर्फ औँला उठाउँदै उनले कडा प्रतिवाद गरिन् ।

‘तपाईँको दिदी, तपाईँको आमा, तपाईँको बहिनी हो १० लाख ? आफ्नो दिदीबहिनीलाई भन्या हो ? गएर आफ्नो आमालाई भन्नु न जानु… सुन्नुभयो नि…’ समीक्षाले चुनौती दिँदै भनिन् ।

त्यसपछि दर्शकले उनको समर्थनमा हुटिङ गर्न थाले । समीक्षाले दर्शकलाई सम्बोधन गर्दै भनिन्, ‘ल ठीक छ, अब त्यस्ता झारपात कुरामा ध्यान दिनु हुँदैन है । कि कसो ? अगाडि बढ्नुपर्छ है… जिन्दगीमा दुखको दिन सबै जनाको आउँछ के… कसैको देखिन्छ, कसैको देखिँदैन… फरक यत्ति हो… मेरो मात्रै लाइफमा होइन, भोलि तपाईँको आफ्नो छोरो चेली बैनीलाई पर्न सक्छ । त्यो बेला थाहा हुन्छ तपाईँलाई । अहिले अरूलाई गिराउन त सजिलो छ नि… । तर फेरि मैले चैँ मनमा लिन्न है।… अब त्यस्ता कुरा छाडिदिऊँ…’

यति भनेपछि उनी आफ्नो प्रस्तुतिमा अगाडि बढिन् ।

उत्साहित मुद्रामा स्टेज चढ्दै गर्दा निकै समीक्षा सुरुमै यस्तो परिस्थिति झेल्नु पर्दा निराश बनेको सहभागीहरूले जनाएका छन् । उनी स्टेज चढेर हातमा माइक लिनेबित्तिकै युवाहरूको एक समूहले हुटिङ गरेको स्थानीय पत्रकार जानु पाण्डेले बताए ।

सुरुमै आएको व्यवधान सामना गर्दै समीक्षाले आफ्नो प्रस्तुति दिइन् । उनले ‘सुर्ती माड्दै माड्दै’, ‘हावा चिसो चिसो’, ‘धनगढीको बसमा’, ‘नबोली नबोली तिमीसँग’… बोलका गीत गाएकी थिइन् । साथै आफ्नो नयाँ गीत ‘मेरो राशि तुला, उनको राशि कन्या’ को प्रचार पनि गरिन् ।

‘१० लाख’ को आरोप र सत्यता

भनिरहनु नपर्ला, समीक्षामाथि ‘१० लाख’ भन्दै हुटिङ गर्नेहरू अभिनेता पल शाहका फ्यान थिए । उनीहरू समीक्षालाई अपमानित गर्ने योजनाका साथ नै आएको आयोजकको अनुमान छ ।

समीक्षाले पल शाहविरुद्ध जबरजस्ती करणीको मुद्दा हालेकी थिइन् । जिल्ला अदालत नवलपुरले २०७९ साल भदौमा पललाई बाल यौन दुरुपयोगमा दोषी ठहर गर्दै २ वर्ष ६ महिना कैद सजाय र २५ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो । साथै, पलले समीक्षालाई १० लाख रुपैयाँ क्षतिपूर्ति दिनुपर्ने पनि फैसलामा उल्लेख थियो ।

समीक्षाले भने आफूलाई आर्थिक क्षतिपूर्ति नचाहिने बताएकी थिइन् । उनले सार्वजनिकरुपमा नै १० लाख रुपैयाँ नलिने घोषणा गरेकी थिइन् । तर पलका फ्यानहरुले भने अहिलेसम्म पनि उनलाई ‘१० लाख’ भन्दै होच्याउने गरेका छन् । सामाजिक सञ्जालमा पनि उनको पोस्टहरुमा यस्तो कमेन्ट आउने गरेका छन् ।

समीक्षाले पछि पल शाहलाई लगाएको आरोप फिर्ता लिएर सजायबाट उन्मुक्ति दिइसकेकी छन् । उनले बयान फेरेपछि उच्च अदालतले पललाई सफाइ दिएको थियो ।

२४,मंसिर.२०८१,सोमबार ११:१९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्