तनहुँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुनले सरकारले सुशासनका पक्षमा काम गर्नुपर्ने बताएका छन् । प्रेस सेन्टर नेपाल तनहुँ शाखाले आज दमौलीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले आर्थिक समृद्धि हासिल गर्न सुशासन महत्वपूर्ण भएको उल्लेख गरे ।
आर्थिक समृद्धिको लक्ष्य लिँदै सुशासन र जनताको पक्षमा काम गर्नुपर्ने अहिलेको आवश्यकता रहेको उपमहासचिव पुनको भनाइ थियो । उनले सरकारले यसका लागि गर्ने हरेक कार्यमा आफ्नो पार्टीको साथ रहने बताए ।
‘सरकारले राम्रो काम गरोस् भन्ने हाम्रो चाहना हो । सरकारले जनताका पक्षमा र सुशासनका पक्षमा काम गर्नुपर्छ । यस्तो कार्यमा हाम्रो साथ र समर्थन रहनेछ । माओवादी पार्टी अहिले सरकार फेरबदलमा लाग्दैन’, उपमहासचिव पुनले भन ।
उनले लोकतन्त्रको विकल्प लोकतन्त्रमात्रै भएको, तर वर्तमान शासन व्यवस्थाका बारेमा कुरा उठ्न थालेकाले यसको सुधार आवश्यक रहेकोमा जोड दिए ।
उपमहासचिव पुनले भने, ‘व्यवस्था त बदलियो, तर अवस्था बदलिएन । हामी २०८४ को चुनावमा यही ‘एजेन्डा’ लिएर जनतामाझ जानेछौं । जनताले खोजेको पनि यही हो । अहिले हामी सङ्गठन सुधारको अभियानमा लागिरहेका छौं ।’
प्रतिक्रिया दिनुहोस्