काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको लाभांश पारित भएको छ । बिहीबार काठमाडौंमा सम्पन्न बैंकको १८औँ वार्षिक साधारण सभाले लाभांश पारित गरेको हो ।
साधारण सभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चित मुनाफा तथा पुँजी समायोजन कोष समेतबाट बैंकले आफ्ना शेयर धनीहरूलाई प्रस्ताव गरेको ५.५ प्रतिशत बोनस शेयर लाभांश दिने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ । साधारण सभाले सञ्चालक समितिको तर्फबाट बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र एकीकृत वित्तीय विवरणलाई अनुमोदन गर्दै बोनस शेयर वितरण पश्चात् कायम हुने पुँजी वृद्धिको हदसम्म हुने गरी प्रबन्ध पत्र र नियमावली संशोधनको प्रस्ताव पनि पारित गरेको छ ।
बैंकले आर्थिक वर्ष २०८०।८१ मा १२ अर्ब ४८ करोड रुपैयाँ सञ्चालन मुनाफा र ६ अर्ब १३ करोड रुपैयाँ करपछिको मुनाफा आर्जन गरेको थियो । प्रस्तावित बोनस शेयर वितरणपछि बैंकको चुक्ता पुँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुग्नेछ ।
साधारण सभामा अध्यक्ष ढकालले बैंकले नेपाल सरकार र नेपाल राष्ट्र बैंकद्वारा घोषित नीतिहरूको पूर्ण परिपालना गर्दै शेयर धनीहरूलाई उचित लाभांश प्रदान गर्न बैंक प्रतिबद्ध रहेको बताए ।
साथै, बैंकले आफ्नो व्यावसायिक रणनीतिक योजनाअन्तर्गत नयाँ व्यावसायिक क्षेत्रहरूको सन्तुलित विस्तार गर्दै जाने योजना रहेको पनि उनले उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्