नर्सिङ संघमा एमाले-माओवादी र कांग्रेस-एकीकृत समाजवादी निकटबीच गठबन्धन, मतदान जारी

काठमाडौ । काठमाडौ नेपाल नर्सिङ संघको निर्वाचन शुक्रबार भइरहेको छ।

२० औं कार्यसमिति र नर्सिङ परिषद सदस्यको निर्वाचन भएको हो।

बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान गर्न पाइनेछ। निर्वाचनमा नेपाल नर्सिङ संघका साधारण सदस्य र आजीवन सदस्यले मात्र मतदान गर्न पाउने छन्।

नर्सिङ संघमा पनि पार्टी निकटहरूले गठबन्धन गरी उम्मेदवारी दिएका छन्।

सत्तारूढ नेकपा (एमाले) र प्रमुख प्रतिपक्षी माओवादीनिकटबीच यहाँ गठबन्धन भएको छ। गठबन्धनबाट अध्यक्षमा साझा उम्मेदवार छिन्- चन्द्रकला शर्मा।

यस्तै सत्तारूढ नेपाली कांग्रेस र प्रतिपक्षी नेकपा (एकीकृत समाजवादी) निकटबीच पनि गठबन्धन भएको छ। गठबन्धनबाट साझा उम्मेदवार छिन्- एकीकृत समाजवादीनिकट गंगाकुमारी थापा।

यस्तै एमालेनिकट रहेकी बसन्ती थापा पनि अध्यक्षको उम्मेदवार छिन्। उनले बागी उम्मेदवारी दिएकी हुन्।

नर्सिङ संघको मतदानका लागि देशभर २० वटा मतदान केन्द्र तोकिएको निर्वाचन समितिकी प्रमुख आयुक्त लक्ष्मी राईले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

कांग्रेसले नर्सिङ संघमा समन्वय गर्ने जिम्मेवारी केन्द्रीय सदस्य नैनसिंह महरलाई दिएको थियो भने एमालेबाट कृष्णगोपाल श्रेष्ठले जिम्मेवारी पाएका थिए।

उनीहरूले एमाले-माओवादीबीच गठबन्धन भत्काएर एमाले-कांग्रेसबीच गठबन्धन गर्ने प्रयास गए राति अबेरसम्म गरे पनि सहमति हुन सकेको थिएन।

एमालेनिकटहरू गठबन्धन भत्काउन इच्छुक नदेखिएको कांग्रेसनिकट स्रोतको दाबी छ।

२८,मंसिर.२०८१,शुक्रबार १२:३९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्