प्रभु साहको दाबी, ओलीले देशमा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न सक्दैनन्

काठमाडौँ । आम जनता पार्टीका अध्यक्ष एवम् पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा शान्ति, सुरक्षा, सुव्यवस्था र अमनचयन कायम गर्न नसक्ने दाबी गरेका छन् ।

शुक्रबार वीरगन्जमा आइटी आर्मीको भेलालाई सम्बोधन गर्दै पूर्वमन्त्री साहले अहिलेको सरकारले शान्ति, सुरक्षा कायम गर्न नसक्ने दाबी गरेका हुन् । उनले बाढी, पहिरोको विपत्तिमा परेर जनता मर्दासमेत प्रधानमन्त्री जनताको घरदैलोमा जान नसकेको र हालै आफ्नै जिल्ला झापामा भ्यू टावर उद्घाटन गर्दा जनतालाई लामबद्ध बनाएर शरिर खानतलासीजस्तै चेकजाँच गर्नुले प्रधानमन्त्री ओलीले आफै असुरक्षित महसुस गरेको टिप्पणी गरे ।

उनले भने, ‘अहिलेको सरकारबाट देशमा शान्ति, सुरक्षा र अमनचयन कायम हुन सक्दैन । स्वयम सरकारको नेतृत्वमा बसेका केपी ओलीले असुरक्षित महसुस गरेको देखिन्छ । नत्र भने भने जनता बाढी, पहिरोमा परेर मरिरहँदा प्रधानमन्त्री जानुपर्दैन थियो ? उहाँ अमेरिकामा शयर गरेर बस्नुभयो । नेपाल फर्किनेबित्तिकै तुच्छ बोल्नु भयो । अहिले झापामा भ्यू टावर, म त यो टावरलाई सेतो हात्ती भन्छु, त्यो उद्घाटन गर्न जानुभयो, उद्घाटन गर्दा जनतालाई लामबद्ध बनाएर चेकजाँच गरेको भिडिओ बाहिरिएको छ । कस्तो विडम्बना । जनतासँगै असुरक्षित हो र ? हो भने किन सत्तामा बस्नु ?’

उनले अहिले लोकतन्त्रको नाममा लुटतन्त्र मच्चाएर कांग्रेर र एमालेले लोकतन्त्रको नै भद्दा मजाक बनाएको आरोप लगाए ।

२८,मंसिर.२०८१,शुक्रबार १६:३६ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्