काठमाडौँको न्यूनतम तापक्रम झर्‍यो २ डिग्रीमा

काठमाडौँ । काठमाडौँको तापक्रम आज यस वर्षकै न्यून बिन्दुमा झरेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज बिहान ८:४५ बजे काठमाडौँको तापक्रम २ डिग्री सेल्सियसमा झरेको हो ।

यसअघि, काठमाडौँमा शुक्रवार ३.१ डिग्री सेल्सियस र बिहीबार ३.९ डिग्री सेल्सियस तापक्रम थियो । पछिल्लो समय काठमाडौँसहित देशभर तापक्रम घट्ने क्रम जारी छ ।

जुम्ला, जोमसोम र जिरीको तापक्रम यसअघि नै माइनसमा पुगेको छ । आज जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्री सेल्सियस रहेको छ । बिहान ९ बजे पोखरामा ५.६ डिग्री सेल्सियस रहँदा जनकपुरको न्यूनतम तापक्रम भने ८.६ डिग्री सेल्सियस रहेको छ ।

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ ।

दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने छ ।

२९,मंसिर.२०८१,शनिबार १०:०० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्