माओवादी सिद्धियो भन्नेहरुलाई जनताले मनमनै फैसला गरिसकेका छन्ः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड २०८४ को निर्वाचनबाट माओवादी फेरि शक्तिशाली भएर आउने वातावरण बन्दै गएको दाबी गरेका छन् ।

रुपन्देहीको तिलोत्तमामा पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले माओवादीप्रति जनताको विश्वास बढ्दै गएको दाबी गरे ।

उनले आफूले सरकार छाड्ने बेला केही मिडिया र बुद्धिजीवी भनाउँदाहरुले माओवादी अब सिद्धिने नियोजित दुष्प्रचार गरेको टिप्पणी गरे ।

प्रचण्डले भने, ‘पछिल्लो समय जहाँ गएँ, त्यही पार्टी नेतृत्वप्रति जिन्दावादको नारा लागेको छ । नेपाली जनताको यो भरोसालाई अलिकति पनि तोड्न दिनेछैन । प्रतिक्रियावादी जालीझेलीहरुले राष्ट्रलाई बन्धक बनाउने, जनतालाई भ्रष्टाचारको जाँतोमा पिस्ने जुन काम गरेका छन् । जनताले मनमनै फैसला गरिसकेका छन् । जनतालाई माया गर्ने पार्टी माओवादी नै हो । स्थानीय तहको उपनिर्वाचनले को सिद्धिँदैछ, को रिभाइभ भएर आउँदैछ भन्ने देखाइसकेको छ ।’

उनले समाजवादी नयाँ आन्दोलनमार्फत प्रतिक्रियावादी शक्तिहरुको षड्यन्त्रको प्रतिवाद गर्ने बताए । प्रचण्डले आफू सरकारमा हुँदा भ्रष्टाचारविरुद्धको अभियान चलाएपछि जनताको विश्वास बढेको सुनाए ।

प्रचण्डले आफू प्रधानमन्त्री हुँदा राजनीतिक नेता, ठूल्ठूला कर्मचारी, भूमाफियाहरुलाई भ्रष्टाचारविरुद्धको कारबाही अगाडि बढाएको स्मरण गरे ।

२९,मंसिर.२०८१,शनिबार १८:३४ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्