संसदमा विजनेस नभएपछि सभामुख पुगे पोखरा, भने हिमाल कालै पो भएछ ?

पोखरा । अहिलेसम्म ५१ फिट अग्लो विशाल महादेवको मूर्ति, ३१ फिट अग्लो डमरुसँगै कलात्मक संरचना । मूर्तिसँगै अर्को थुम्कामा बनेको सुमेरु पर्वत, आँखैमा ठोकिन आइपुग्ने हिमशृंखला, फैलिंदै गइरहेको पोखरा र साँघुरिंदै गइरहेको फेवाताल ।

पोखरा–२२ पुम्दीकोटबाट देखिएको दृश्य हेर्दै बुधबार राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, संघीय सभामुख देवराज घिमिरेदेखि सातै प्रदेशका सभामुख उपसभामुख र सचिवहरु मोहित बने । ‘अहा !’ उनीहरुका मुखबाट निस्किरहेका थिए । उनीहरुले महादेवको मूर्तिको दर्शन गर्दै पुम्दीकोटबाट पोखरा र आसपासको दृश्वावलोकनमा रमाएका हुन् ।

पोखरामा जारी अन्तर व्यवस्थापिका सम्मेलनमा सहभागी हुन आएकाहरु पोखरा–२२ मा रहेको विशाल महादेवको मूर्ति र त्यहाँबाट देखिने पोखरा बजार, फेवाताल र हिमशृंखला हेरे । आँखैमा आइपुग्ने खुलेका हिमाल, फैलिंदै गइरहेको पोखरा बजार र साँघुरिंदै गइरहेको फेवाताल हेरेर उनीहरुले तस्वीरहरु लिए ।

‘मोहित पार्ने दृश्य रहेछ । विशाल महादेवको मूर्तिसँगै यहाँ बनिरहेका संरचनाले जोकोहीको मन हर्ने रहेछ,’ संघीय सभामुख घिमिरेले भने । पृष्ठभूमिमा माछापुच्छ्रे, अन्नपूर्ण हिमशृंखलालाई राखेर घिमिरेले फोटो खिचाए र अनि भनें ‘सेतो हुनुपर्ने हिमाल त कालै भएछ ।’ किन यस्तो भयो होला त ? घिमिरेले थपे, ‘जलवायु परिवर्तनले हिउँ नै परेन ।’

आफू चालीस वर्षअघि पोखरा आएको र त्योबेला पुम्दीकोट कुनै चर्चाको विषय नभएको बताए ।

पर्यटनको विकास कसरी गर्नुपर्छ र पाहुनालाई कसरी स्वागत गर्नुपर्छ भन्ने पोखराबाट सिक्नुपर्ने उनकोभनाइ थियो । पुम्दीकोटलाई सजाउने, पर्यटकीय आकर्षण बनाउन योजनामात्रै होइन, अनवरत रूपमा खटिएर यो अवस्थामा ल्याउनु सानो कुरा नभएको बताए । यहाँको धार्मिकमात्रै होइन, ऐतिहासिक पक्षलाई प्रचार गर्नुपर्ने उनको भनाइ थियो ।

घिमिरेले जस्तै राष्ट्रिय सभा अध्यक्ष दाहालको पनि प्रतिक्रिया थियो, ‘यस्तो पो दृश्य । तर, हिमाल खुइलिएछ ।’ उनले पुम्दीकोटबाट दृश्य हेरेपछि यस्ता चिज देशका केही ठाउँमा हुने हो भने ठूलो प्रगति हुने बताए ।

अध्यक्ष दाहालले आफ्नै गाउँघर ढिकुरपोखरीसँगै कास्कीकोट, सराङकोट र हिमशृंखलालाई पृष्ठभूमिमा राखेर फोटो खिचाए । अन्नपूर्ण गाउँपालिका वडानम्बर १ को ढिकुरपोखरी लेवाडे अध्यक्ष दाहालको पुर्ख्यौली घर हो । ‘मेरो जन्मस्थान त ऊ त्यहाँ पारी (ढिकुरपोखरी लेवाडे) हो । यहाँ प्रकृति र महत्वको जानकार छु,’ दाहालले भने, ‘यो ठाउँले त नेपालकै पर्यटन क्षेत्रलाई पाठ पढाएको छ ।’

पोखरा घुम्न आउने पर्यटकका निम्ति पुम्दीकोटको विशाल महादेवको मूर्तिको दर्शन र त्यहाँबाट देखिने दृश्यमा रमाउनु अनिवार्यजस्तै बनिसकेको छ । पोखराकै प्रमुख पर्यटकीय गन्तप्य बनाउन विशाल महादेशको मूर्ति निर्माणले ठूलो सहयोग पुगेको छ भने त्यहाँको सम्भावना देखेर थप संरचना र लगानीसमेत बढिरहेको पुम्दीकोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी गराए ।

समितिका अध्यक्ष बरालले संयुक्त राष्ट्र संघका महासचिव एन्टिनियो गुटरेसको आगमनले पुम्दीको प्रचार अन्तरास्ट्रियस्तरमा पुगेको र अब भारतको उत्चर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई ल्याउने योजना रहेको सुनाए ।

पुम्दीको विकासमा सक्रिय सोही क्षेत्रका प्रदेश सांसद प्रकाश बरालले स्थानीयको पहलमा पुम्दीकोट यो अवस्थामा पुग्नु चानचुने नभएको बताउँदै यसले देशकै पर्यटन क्षेत्रमा टेवा पुर्‍याएको जानकारी गराए । उनीहरूले पोखराको गुप्तेश्वर गुफाकोसमेत अवलोकन गरेका छन् ।

२०७३ र २०७९ सालमा यहाँ महायज्ञ लगाएर संरचना निर्माणलाई गति दिने आर्थिक संकलन थालिएको थियो । ४० करोड रुपैयाँको संरचना निर्माण गर्ने गुरुयोजना छ र अहिलेम्म करिब स्थानीयको २२ करोडसहित करिब ३० करोड लगानी भइसकेको छ । स्थानीयले गरेको जग्गादानबाट थप संरचनाहरु बिस्तार हुँदै गइरहेको छ ।

३,पुष.२०८१,बुधबार ११:०२ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्