काठमाडौँ । दुग्ध विकास संस्थान (डीडीसी) ले मनराम हिमालयन हेन्डिक्राफ्ट प्रालिलाई दिनको १० हजार लिटर दूध बेच्ने सम्झौता गरेको छ । नयाँ बजार खोज्ने क्रममा डीडीसीले बुधबार मनराम हिमालयनसँग दुग्ध पदार्थ बिक्री गर्ने सम्झौता गरेको हो ।
सम्झौतापत्रमा डीडीसीका महाप्रबन्धक सूर्य पौडेल र हिमालयनका प्रमुख वित्त अधिकृत पुनम कार्कीले हस्ताक्षर गरे ।
सम्झौतापछि डीडीसीले दैनिक १० हजार लिटर दुग्ध पदार्थ बिक्री गर्नेछ । मनराम हिमालयनले छुर्पी बनाएर निर्यात गर्ने जनाएको छ । सम्झौतासँगै दिनको ७ लाख रुपैयाँको नयाँ बजार थपिएको डीडीसीका सूचना अधिकारी राजेन्द्र अधिकारीले बताए । ‘डीडीसीले उपलब्ध गराउने एक हजार लिटर दुग्ध पदार्थबाट मनराम हिमालयन हेन्डिक्राफ्ट प्रालिले छुर्पी बनाउनेछ । डीडीसीले विराटनगर परियोजनाबाट दुग्ध पदार्थ उपलब्ध गराउनेछ,’ अधिकारीले भने, ‘डीडीसीले कच्चा पदार्थ उपलब्ध गराएपछि मनराम हिमालयन हेन्डिक्राफ्ट प्रालिले आफ्नो मागअनुसार छुर्पी बनाएर निर्यात गर्नेछ ।’
डीडीसी र हिमालयनबीच एक वर्षका लागि सम्झौता भएको छ । एक वर्षपछि सम्झौता पुनः नवीकरण गरिने डीडीसीले जनाएको छ । सुधारका आयोजनाअन्तर्गत डीडीसीले आफ्नो प्रोडक्ट चीन निर्यातको पहल गरिराखेको जनाएको छ । ‘डीडीसीकै प्रोडक्ट मात्रै बेच्ने गरी चीनमा निर्यातका लागि पहल गरिराखेका छौं, भन्सारमा डकुमेन्टहरू पठाएका छौं,’ महाप्रबन्धक सूर्य पौडेलले भने, ‘चीन निर्यात भए डीडीसीको प्रोडक्ट गोदाममा थन्किँदैन ।’
ITPF
प्रतिक्रिया दिनुहोस्