पर्यटकीय नगरी पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु

पोखरा । पर्यटकीय नगरी पोखरामा आजबाट अन्तर्राष्ट्रिय बेलुन महोत्सव सुरु भएको छ । पर्यटन क्षेत्रलाई कोरोना महामारीपूर्वको अवस्थामा फर्काउन सक्रिय भूमिका खेल्ने विश्वाससाथ बेलुन नेपाल प्रालिले नेपालमा पहिलो पटक महोत्सव आयोजना गरेको हो ।

९ दिनसम्म चल्ने पहिलो संस्करणको महोत्सवमा झन्डै दुई दर्जन बेलुन पोखराको आकासमा उडाइने छ । महोत्सवमा अमेरिका, स्पेन, लिथुवानिया, थाइल्यान्ड, भियतनामलगायत विभिन्न देशको प्रतिनिधित्व छ ।

यो महोत्सवले आन्तरिक मात्र नभई विदेशी पर्यटक पनि आकर्षित गर्ने गरी नेपालको अर्थतन्त्रमा टेवा पुर्‍याउने आयोजकको विश्वास छ ।

४० मिनेटको उडानमा बेलुनबाट हिउँले ढाकिएका अन्नपूर्ण हिमशृङ्खला सहित माछापुच्छ्रे र धौलागिरि साथै पोखरा उपत्यकाको मनोरम दृश्य अवलोकन गर्न सकिने छ । महोत्वसमा हरेक साँझ आतिशबाजी प्रदर्शन, बेलुन दौड र क्याम्पिङ पनि आयोजना हुनेछ ।

महोत्सव अवधिभरि पोखराका स्थानीय सांगीतिक ब्यान्डका साथै दीपक बज्राचार्य एन्ड टिम, राजु लामा एन्ड मंगोलियन हार्ट, एलिना चौहान, कुमा सागर एन्ड ख्वपः ब्यान्ड जस्ता नेपाली कलाकारको सांगीतिक प्रस्तुति पनि हुने छन् ।

नेपाल पर्यटन बोर्ड, गैरआवासीय नेपाली संघ (एनआरएनए), पोखरा महानगरपालिका र पोखरा पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोगमा करिज्म्याटिक डिजिटल सोलुसनले महोत्सव व्यवस्थापन गरेको छ ।

महोत्सवको संयुक्त आयोजकमा पोखरा पर्यटन परिषद् पनि छ । कार्यक्रमको ब्रान्ड एम्बेसडरमा अभिनेता राजेश हमाल र अभिनेत्री प्रियंका कार्की छन् ।

९,पुष.२०८१,मंगलवार ०९:०९ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्