फिल्म प्रदर्शनमा हुनसक्ने झडप रोक्न कलाकार र प्रदर्शक आफैंले सुरक्षा प्रबन्ध गर्नुपर्ने

काठमाडौं । चलचित्र विकास बोर्डले विशेष प्रदर्शन, च्यारिटी शो र प्रचारप्रसारको क्रममा हुनसक्ने सम्भावित घटना, झडप, दुर्घटनालाई रोक्न आवश्यक सुरक्षाको प्रबन्ध निर्माता, वितरक, प्रदर्शक वा कलाकार आफैंले गर्नुपर्ने बताएको छ ।

चलचित्र क्षेत्रका नौ संघसंस्थालाई पत्र लेख्दै बोर्डले सार्वजनिक प्रदर्शनको क्रममा कलाकार दर्शकमाझ जाँदा हुनसक्ने झडपलाई रोक्न ध्यानाकर्षण गराएको हो ।
‘चलचित्रका निर्माता, वितरक, प्रदर्शक वा कलाकार आफैंले सुरक्षा व्यवस्थाको आवश्यक प्रबन्ध मिलाउने व्यवस्था कार्यान्वयन गर्न, गराउन सहयोग गर्नु भई चलचित्र क्षेत्रको अनुशासन, मर्यादा र यसको गरिमा जोगाइराख्ने कार्यमा सबैको सहयोग र सहकार्यको लागि अनुरोध गरिन्छ,’ अध्यक्ष दिनेश डीसीले पत्रमा भनेका छन् ।

चलचित्रकर्मीको सुरक्षा व्यवस्था सम्बन्धमा विषयक पत्र लेख्दै बोर्डले निर्माता संघ, कलाकार संघ, निर्देशक समाज, प्राविधिक संघ, नृत्य संघ, चलचित्र संघ, द्वन्द्व कलाकार संघ, आदिवासी जनजाति मातृभाषी चलचित्र संघ र चलचित्र पत्रकार संघलाई उक्त आग्रह गरेको हो ।

केही समय अघि भारतको हैदरावादमा ‘पुष्पा २’ को विशेष प्रदर्शनका क्रममा भएको घटना र काठमाडौंको सिभिल मलमा ‘कबड्डी’ प्रदर्शनका क्रममा अभिनेत्री मिरुना मगरमाथि भएको दुर्व्यवहारको घटनालाई आधार मान्दै बोर्डले ध्यानाकर्षण गरेको अध्यक्ष डिसीले बताए ।

९,पुष.२०८१,मंगलवार १६:५० मा प्रकाशित

प्रतिक्रिया दिनुहोस्